काठमाडौं– एक वर्षमा विश्वभर ४५ जना पत्रकार मारिएका छन्। अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आईएफजे) का अनुसार सन् २०२१ मा उक्त संख्यामा पत्रकार तथा मिडियाकर्मी कामकै सिलसिलामा मारिएका हुन्।
व्यक्तिगत रुपमै निशाना बनाएर गरिएको हत्या, द्वन्द्वरत पक्षबीचको भिडन्तमा परेर भएको मृत्यु तथा बम विस्फोटमा भएको मृत्युलाई यसमा समावेश गरिएको छ। आईएफजेका अनुसार २० मुलुकमा पत्रकार मारिएका छन्।
क्षेत्रगत रुपमा हेर्ने हो अमेरिकामा १० जना, युरोपमा ६ जना, एसिया प्यासिफिक क्षेत्रमा २० जना, अफ्रिकामा ८ जना र मध्यपूर्व तथा अरबमा ३ जना पत्रकार मारिएका छन्।
अघिल्लो वर्ष ६५ जना पत्रकार मारिएकोमा यस वर्ष यो संख्या केही घटेको छ। सन् १९९१ देखि २०२१ को २० वर्षे अवधिमा भने विश्वभर २ हजार ७२१ जना पत्रकार मारिएका छन्।