शुक्रबार, असोज १६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • बढी क्षेत्रफलमा रोपाइँ हुँदा पनि किन घट्यो धान उत्पादन?

बढी क्षेत्रफलमा रोपाइँ हुँदा पनि किन घट्यो धान उत्पादन?

पोहोर देशभर ५६ लाख २१ हजार ७१० टन धान उत्पादन भएकोमा यस वर्ष ५१ लाख ३० हजार टन उत्पादन भएको छ। यो परिमाण गत सालको भन्दा ४ लाख ९१ हजार टन कम हो।
 |  आइतबार, पुस १८, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, पुस १८, २०७८

काठमाडौं– गएको असोज अन्तिम र कात्तिक सुरुमा परेको बेमौसमी वर्षाले भकारीमा पुग्नुपर्ने धान हिलोमा मिसिन पुग्यो। विशेषगरी सुदूरपश्चिम र लुम्बिनी प्रदेशका किसानले बढी क्षति बेहोर्नुपर्‍यो। 

वर्षा र बाढीको असर समग्र धान उत्पादनमा परेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भर्खरै तयार गरेको तथ्यांकअनुसार पोहोरभन्दा यस वर्ष धान उत्पादन घटेको छ। 

पोहोर देशभर ५६ लाख २१ हजार ७१० टन धान उत्पादन भएकोमा यस वर्ष ५१ लाख ३० हजार टन उत्पादन भएको छ। यो परिमाण गत सालको भन्दा ४ लाख ९१ हजार टन कम हो।

बाँकेको नरैनापुरमा वर्षाले बिगारेको धान देखाउँदै स्थानीय कृषक। फाइल तस्बिर
यस वर्ष देशभर १४ लाख ७७ हजार ३७८ हेक्टरमा धान रोपाइँ भएको थियो। अघिल्लो वर्ष भने १४ लाख ७३ हजार ४ सय ७४ हेक्टरमा धान रोपिएकोे थियो। यस वर्ष समयमै मनसुन सक्रिय भएपछि गत वर्षको तुलनामा ३ हजार ९ सय ४ हेक्टर बढी क्षेत्रफलमा रोपाइँ भएको थियो । तर, पाक्न लागेको धान पानीमा डुबेपछि उत्पादन भने घट्न पुग्यो। कृषि मन्त्रालयका अनुसार बेमौसमी वर्षाले मुलुकभरका १ लाख ११ हजार ६०९ हेक्टरमा लगाइएको ४ लाख २४ हजार १ सय १३ टन धान बालीमा क्षति पुगेको थियो।

वर्षाले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका कैलाली, कञ्चनपुर, बर्दिया, बाँके तथा कपिलवस्तुमा धान थन्क्याउने बेला ठूलो क्षति गरेको थियो । मन्त्रालयका अनुसार धान उत्पादन सबैभन्दा बढी सुदूरपश्चिममा घटेको छ । यस वर्ष उक्त प्रदेशमा ४ लाख ४१ हजार ९१३ टन धान उत्पादन भयो । यो परिमाण गत वर्षको तुलनामा ३१.४९ प्रतिशत कम हो । गत आवमा सुदूरपश्चिममा ६ लाख ४४ हजार ९५१ टन उत्पादन भएको थियो ।

पोहोर देशभर ५६ लाख २१ हजार ७१० टन धान उत्पादन भएकोमा यस वर्ष ५१ लाख ३० हजार टन उत्पादन भएको छ। यो परिमाण गत सालको भन्दा ४ लाख ९१ हजार टन कम हो।

वर्षाकै कारण लुम्बिनी प्रदेशमा पनि धान उत्पादन घटेको छ । मन्त्रालयको विवरणअनुसार लुम्बिनीमा यस वर्ष ९ लाख ९९ हजार ३ सय ९९ टन धान उत्पादन भयो । यो परिमाण गत वर्षको तुलनामा १८.३८ प्रतिशत कम हो । कर्णालीमा पनि ८.७६ प्रतिशत घटेर १ लाख २५ हजार १ सय ४६ टनमात्र धान उत्पादन भयो।

धान उत्पादन हुने मुख्य क्षेत्र प्रदेश २ मा पनि उत्पादन घटेको छ। उक्त प्रदेशको उत्पादन ३.२४ प्रतिशत घटेर १३ लाख ८६ हजार ३ सय २८ टन भएको छ । प्रदेश १ मा ०.९३ प्रतिशत घटेर १२ लाख ६३ हजार ७१४ टन र बागमतीमा ०.३५ प्रतिशत घटेर ५ लाख ९ हजार ५९० टन उत्पादन भएको छ । 

गण्डकीमा भने धान उत्पादन २.३३ प्रतिशतले बढेर ४ लाख ६ हजार ३ सय ३६ टन पुगेको छ । गण्डकीमा वर्षाले धानमा खासै क्षति गरेको थिएन। 

जानकारहरुका अनुसार कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा कृषि क्षेत्रको योगदान करिब २५ प्रतिशत छ। कृषि जीडीपीमा भने धान र परालको योगदान १५ प्रतिशत छ । झन्डै पाँच लाख टन धान उत्पादन कम हुँदा यो वर्ष चामल आयात झन् बढ्ने अनुमान गरिएको छ । स्थानीय उत्पादनले माग धान्न नसक्दा वर्षेनी ठूलो परिणाममा चामल आयात हुँदै आएको छ। 


प्रकाशित: Jan 02, 2022| 12:40 आइतबार, पुस १८, २०७८
प्रतिक्रिया दिनुहोस्