काठमाडौं- पुस लागेसँगै देशभर चिसो बढेको छ। यस्तो अवस्थामा सबैभन्दा बढी प्रभावित हुने समूहमा पर्छन् बालबालिका। चिसो मौसममा रुघाखोकी, निमोनिया जस्ता संक्रमणबाट बालबालिका चाँडो ग्रसित हुने जोखिम हुन्छ। त्यसैले बच्चाको विशेष ख्याल गर्नुपर्छ
तर, हामीले खानपानदेखि न्यानो लुगा लगाउने कुरामा ध्यान दियौं भने बच्चाहरूलाई सहजै चिसोबाट जोगाउन सक्छौं।
बच्चाहरूलाई चिसोबाट जोगाउन तरकारीका साथै पर्याप्त मात्रामा फलफूल दिनुपर्छ। जसले शरीरमा रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न मद्दत गर्छ। रोगसँग लड्नका लागि पोषक तत्त्वको आवश्यकता पर्छ। त्यो पोषक तत्त्व हामीले फलफूलबाट सहजै पाउन सक्छौं।
यसका साथै बालबालिकालाई पर्याप्त सुत्न दिनुपर्छ। पुरा निन्द्रा नसुत्दा रुघाखोजीको जोखिम हुन्छ। ५ देखि १३ वर्षसम्मका बालबालिकालाई ९ देखि ११ घण्टा सुत्नदिनुपर्छ। पुरा निन्द्रा सुत्दा रोग प्रतिरोधात्मक क्षमतासमेत बढ्छ।
अर्को कुरा चिसोबाट जोगिन न्यानो लुगा लगाउनुपर्छ। टोपी, मोजा, स्विटर आदि लगाउँदा बच्चालाई न्यानो राख्न सकिन्छ। जसले रुघाखोकी र निमोनिया हुनबाट बचाउँछ।
चिसो मौसम छ भन्दैमा बच्चाहरूलाई घरभित्रै राख्नु हुँदैन। बालबालिकाहरूलाई एक्सरसाइजका लागि बाहिर लैजानुपर्छ। यसले उनीहरूको स्वास्थ्यलाई फ्रेस बनाउँछ। यसका साथै बालबालिकालाई तातो र झोलिलो खानेकुरा दिनुपर्छ। यी कुरामा ध्यान दियौं भने बालबालिकालाई सहजै चिसोबाट जोगाउन सकिन्छ।