काठमाडौं- पत्रकार केपी ढुंगानालाई 'अनलाइन जर्नालिजम अवार्ड' प्रदान गरिएको छ। अनलाइन पत्रकार संघको ११औं साधारणसभामा ढुंगानालाई उक्त अवार्ड प्रदान गरिएको हो।
सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अवार्ड र सम्मानपत्रसहित ढुंगानालाई सम्मानित गरेका थिए। इञ्जिनियर विनोद ढकालले ५ लाख रुपैयाँको अक्षयकोष राखेर स्थापना गरेको पुरस्कार पहिलो पटक ढुंगानालाई प्रदान गरिएको हो। पुरस्कारको राशि ५० हजार रुपैयाँ रहेको छ।
पत्रकार कुवेर चालिसेको संयोजकत्वमा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, महासंघका पूर्वसभापति तारानाथ दाहाल, महासंघका पूर्वसचिव रामप्रसाद दाहाल र संघका सदस्य सचिव शिवप्रसाद सत्याल सम्मिलित समितिले ढुंगानालाई पुरस्कारको लागि छनोट गरेको थियो।
अनलाइन पत्रकारितामा पुर्याएको योगदान र लेखेका समाचारहरूको आधारमा ढुंगानालाई पुरस्कृत गरिएको छनौट समितिका संयोजक चालिसेले बताए।
ढुंगाना उकेरा डटकमको प्रधानसम्पादक हुन्।
संघले हरेक दुई वर्षमा आफ्ना सदस्यहरूमध्येबाट उत्कृष्टलाई पुरस्कार दिने बताएको छ।