शनिबार, असोज ३१, २०८३

विमर्श 'उज्यालोतिर' : बालबालिकालाई कता लैजाँदैछ विद्यालय शिक्षा?

कार्यक्रममा वक्ताहरूले अहिलेको शिक्षाप्रणालीले बालबालिकाको मानसिकतामा पारेको प्रभाव र यसका विविध आयाममा आधारित रहेर संवाद गरे। साथै विद्यालय, अभिभावक र शिक्षकहरुको भूमिकाका विषयमा पनि उनीहरुले छलफल गरे।
 |  शनिबार, पुस १७, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, पुस १७, २०७८

काठमाडौं- टीकाराम रेग्मीको नयाँ उपन्यास ‘उज्यालोतिर’बारे विमर्श गरिएको छ। काठमाडौंमा किताबकिरोले शनिबार आयोजना गरेको ‘विद्यालय शिक्षाले बालबालिकालाई कस्तो दिशानिर्देश गर्छ?’ विषयक विमर्श कार्यक्रममा प्राडा. मनप्रसाद वाग्ले, प्राडा. विद्यानाथ कोइराला, डा. काशीराज पाण्डे र डा. मीनाक्षी दाहालले छलफल गरेका हुन्। 

कार्यक्रममा वक्ताहरूले अहिलेको शिक्षाप्रणालीले बालबालिकाको मानसिकतामा पारेको प्रभाव र यसका विविध आयाममा आधारित रहेर संवाद गरे। साथै विद्यालय, अभिभावक र शिक्षकहरुको भूमिकाका विषयमा पनि उनीहरुले छलफल गरे। 

डा. मीनाक्षी दाहालले विद्यार्थीहरुलाई आफूअनुकूलको बनाउन खोज्न नहुने बताइन्। आफ्नो क्षमताअनुसारको बन्न उनीहरुलाई स्वतन्त्र छाडिदिनुपर्ने उनको भनाइ छ। साथै डा. पाण्डेले  रुपान्तरणमुखी शिक्षामा जोड दिनुपर्ने बताए। सबै शिक्षक र सबै अभिभावकले एक पटक पढ्नैपर्ने पुस्तक 'उज्यालोतिर' रहेको उनले बताए।   

जीवनको ऊर्जावान् समय शिक्षणमा बिताएका रेग्मीको उपन्यासमा शैक्षिक समाजलाई थप उज्यालोतिर डोर्‍याउने प्रयास गरिएको छ। कक्षाकोठाका क्रियाकलापलाई समेटेर कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने कुराहरू समेटेर प्रकाशनमा आएको कृति हो, ‘उज्यालोतिर’। प्रभावकारी सिकाइबारे बोल्न र लेख्न रेग्मीको यो पुस्तक उत्कृष्ट शैक्षिक साहित्यका रूपमा बजारमा आएको छ।

‘टीकाराम रेग्मीले आफ्नो अनुभवलाई उपन्यासमा रूपान्तरण गरेर उज्यालोतिरको बाटोमा पूरै शैक्षिक समाजलाई डोर्‍याउन प्रयास गर्नुभएको छ। खासगरी शिक्षण पेसालाई सकारात्मक चिन्तनमा प्रविष्ट गराउन यो उपन्यासबाट उहाँ सक्षम देखिनुभएको छ, पुस्तकबारे प्राडा. मनप्रसाद वाग्लेले भने, ‘यसमा कतिपय उहाँ आफैंले उपयोग गर्न खोजेर पनि अवसर नपाएका कुरा होलान्, कतिपय कुरा नवप्रवेशीका लागि उपयोगी होलान्, कतिपय नयाँ विचारको खोजमा रहेकालाई लक्षित होलान् तर धेरै चाहिँ पूरै शिक्षक समाजका लागि अपरिहार्य र गुणी कुरा छन्।’ आफ्नो जीवनको स्वर्णकाल शिक्षणमा बिताएका यस्ता व्यक्तित्वबाट गरिएको यो प्रयास साह्रै सराहनीय रहेको उनले बताए।  

विद्यार्थीका लागि सिकाइको पहिलो पाठशाला घर र समाज रहेको वाग्लेले बताए। पहिले नजानेको कुरा पनि बिस्तारै बालबालिकाले सिक्दै जाने र त्यो धैर्य सबैले राख्नुपर्ने उनको भनाइ छ। त्यसैले होम स्कुल अर्थात् घरमा पनि विविध विषयमा बालबालिकालाई शिक्षण गर्न सकिने र गर्नुपर्नेमा पनि उनले जोड दिए। 

शिक्षक हुन खोज्नेले पढ्नैपर्ने उपन्यास ‘उज्यालोतिर’ रहेको शिक्षाविद् प्राडा. विद्यानाथ कोइरालाले बताए। ‘पुस्तकको सरुमा लेखकको शिक्षण, तालिम तथा अनुभूति भेटिन्छ। सरु र प्रयासको प्रेम र बिछोडको बैरागले, उसका बाबुआमाको पीडाले तथा सरुको अर्को युवासँगको विवाहले उपन्यासलाई यथार्थवादी बनाएको छ,’ उनले भने। उपन्यासले केही मुद्दा पनि उठाएको कोइरालाको भनाइ छ। 

‘भाषा डुबानमा सिकिन्छ कि जोडानमा? भाषा सिक्न सुनाइ, बोलाइ, पढाइ तथा लेखाइको क्रम नै चाहिन्छ कि क्रमभंगता भए पनि हुन्छ?’ उनले भने, ‘विदेशीका किताब हेरेर नेपाली कक्षामा शिक्षण गर्ने कि आफ्नै माटोको शिक्षण कला बनाउने? अन्तर्राष्ट्रिय उदाहरण दिने कि स्वदेशकै दिने? विद्यालयकै पुरातन संस्कारमा पठनपाठन गर्ने गराउने कि संस्कार बदल्ने? पुराना शिक्षकलाई बदल्न सकिँदैन भन्ने कि नयाँ पुस्ताले आफू उदाहरण बनेर तिनलाई बदलिन बाध्य गर्ने? यसरी हेर्दा शिक्षकले र शिक्षक हुन खोज्नेले पढ्नै पर्ने उपन्यास हो यो।’  

अहिलेको शैक्षिक प्रणाली बालबालिकालाई हामीले भने जस्तो बनाउने कि आफ्नै स्वभावको बनाउने भन्ने रहेको उनले बताए। शिक्षकलाई म साँच्चै रुपान्तरणकारी हुँ भन्ने सोचको विकास गर्न सक्ने हो भने त्यसले नेपालको शैक्षिक प्रणालीले विकासको बाटो समाउने उनको भनाइ छ। 

‘उज्यालोतिर’ उपन्यास कक्षाकोठाका क्रियाकलापलाई समेटेर तयार पारिएको नेपाली साहित्याकाशको एउटा विशेष कृति हो। आफू शिक्षण पेशामा रहँदा केही आफूले गरेका र केही सपना देखेर पनि गर्न नसकेका/नपाएका कर्महरूको धोको रेग्मीले उपन्यासका माध्यमबाट पूरा गरेका छन्। 

उत्तर किशोरावस्थामा विद्यालय प्रवेश गरेर अन्य कुनै क्षेत्रबारे नसोची विद्यालय शिक्षामा रमाउँदै सेवाबाट स्वैच्छिक अवकाश लिएपछि स्तरीय शिक्षामा समर्पित शिक्षक भेट्न र विद्यालयका नमूना हेर्न राजधानीका नाम चलेका विद्यालयदेखि नेपालका पूर्व–पश्चिमका समथर वा डाँडाकाँडा पुग्ने रेग्मी ४८ वर्षदेखि यही क्षेत्रमा क्रियाशील छन्। 

शैक्षिक पत्रिकाको प्रकाशन एवं सहसम्पादन, आफ्नै दृष्टिकोण (अप्रोच)मा आधारित विद्यार्थी सहायक पुस्तकहरूको लेखन, कक्षागत क्रियाकलापमा जोड दिने गरी अनलाइन पत्रिका सञ्चालन, शिक्षकहरूका निम्ति सीपमूलक पुस्तक लेखन र तालिम सञ्चालनमा सक्रिय रेग्मी शैक्षिक एवं साहित्यिक कृतिहरूको अध्ययन र लेखनमा सक्रिय छन्। 

साहित्यिक क्षेत्र, शिक्षा क्षेत्र र विद्यार्थीका लागि समेत गरी रेग्मीका दर्जनभन्दा बढी पुस्तक र विभिन्न पत्रपत्रिकामा सयौं शैक्षिक लेख रचना प्रकाशित छन्। पुस्तकलाई सुनवर्षी बुक हाउसले बजारमा ल्याएको हो।  

कार्यक्रममा ‘उज्यालोतिर’ उपन्यास पढेर आफ्नो फेसबुक, ट्विटर, इन्स्टाग्रामलगायत सामाजिक सञ्जालमा यस पुस्तकबारे (#ujyalotir/#kitabkiro) राखेर पोस्ट गर्नेमध्ये एक जनालाई १५ हजार दिने घोषणा गरिएको छ। आगामी फागुन मसान्तसम्म सामाजिक सञ्जालमा अनिवार्य उल्लिखित ह्यासट्याग प्रयोग गर्नेमध्ये एक जनाले उक्त पुरस्कार पाउनेछन्। 

प्रकाशित: Jan 01, 2022| 18:37 शनिबार, पुस १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।