काठमाडौं- बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री बसन्त मानन्धरले सहकारी क्षेत्रमा सङ्कलन भएको पुँजी अनुत्पादक क्षेत्रमा लगानी गर्न नहुने बताउनुभएको छ।
हसना भास्तिपुर बचत तथा ऋण सहकारी संस्थाको १३औँ साधरणसभाको उद्घाटनका क्रममा मन्त्री मानन्धरले कतिपय सहकारीको अवधारणाविपरीत सञ्चालकले कर्जा प्रवाहका साथै अत्यधिक मुनाफाका लागि अनुत्पादक क्षेत्रमा लगानी गर्दा निक्षेपकर्ता सदस्यको रकम डुबेकाले यस क्षेत्रमा कडाइका साथ नियमन गर्नुपर्नेमा जोड दिए।
उनले वित्तीय क्षेत्रमा अहिले देखिएको मन्दीका समयमा सहकारीको निक्षेप दुरुपयोग हुनसक्ने भएकाले सम्बन्धित सदस्य संवेदनशील हुनुपर्ने विचार व्यक्त गरे।
संस्थाको शेयर पूँजी गत वर्ष रु पाँच करोड ९७ लाख रहेकामा आव २०७७/७९ असार मसान्तसम्म करिब ३९ लाखले वृद्धि भई करिब छ करोड ३६ लाख कायम छ।
सहकारीका अध्यक्ष नारायणकृष्ण महर्जनले सहकारी शिक्षा र सदस्यसँगको अन्तक्र्रियालाई प्राथमिकतामा राखिएको बताउँदै लघुवित्तको कार्यलाई सुचारु गर्ने योजना रहेको बताएका थिए।