काठमाडौं- भन्सार छलीको सामान र ट्रकसहित प्रर्सा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पर्सा प्रहरीले ६० लाख रुपैयाँ बराबरको भन्सार छलीका सामग्री लोड गरिएको ट्रकसहित एक व्यक्तिलाई पक्राउ हो।
पक्राउ पर्नेमा बारा जिल्लाको परवानीपुर गाउँपालिका वडा नम्बर २ का ३३ वर्षीय नसरुदिन मियाँ रहेका छन्। ट्रकमा लोड गरिएका सम्पूर्ण सामग्रीको बिल देखाउन नसकेपछि मियाँलाई ट्रकसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
विशेष सूचनाका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रदेश नम्बर २-०३-००१ ख ०१२९ नम्बरको मालवाहक ट्रकलाई रोकेर चेकजाँच गर्दा उनले लोड गरिएको सम्पूर्ण सामग्रीको बिल बिजक देखाउन नसकेको प्रहरीले जनाएको छ।
प्रहरीले जफत गरिएको सामग्रीको मूल्यांकन ६० लाख रुपैयाँ गरी आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाएको छ।