काठमाडौं- टोखा नगरपालिकामा चालु आर्थिक वर्षको पाँच महिनामा ११ करोड ५८ लाख राजस्व संकलन भएको छ। टोखा नगरपालिकाको शुक्रबार सम्पन्न दशौँ नगरसभामा नगरपालिकाले राजस्व संकलन र विकास निर्माणका कामलाई तीव्रताका साथ अगाडि बढाएको बताइएको छ।
कार्यक्रममा नगरप्रमुख प्रकाश अधिकारीले टोखाले गौरवका योजनालाई प्राथमिकता दिएको बताए ‘कुनै पनि राजनीतिक दल र जनतालाई विभेद नगरी योजना वितरण गर्दा टोखाको विकासले गती लिएको छ’, उनले भने। टोखाको विकासमा जनप्रतिनिधिको साझा दायित्व भएको उनको भनाइ छ।
नगरपालिकाका उपप्रमुख ज्ञानमाया डङ्गोलले नगरसभाबाट पारित भएको बजेटलाई यथासक्य छिटो कार्यान्वयनमा लैजाने बताए। दशौँ नगरसभा नेपाली कांग्रेसले भने बहिष्कार गरेको छ। नगरपालिकाको बैठक बसेर निर्णय गर्नुभन्दा पहिले नै हस्ताक्षर गराउने परिपाटीको सुरुआत गरिएको भन्दै कांग्रेसले उक्त बैठक बहिष्कार गरेको हो।
बैठक बहिष्कार गर्नेमा वडा नं २ का वडाध्यक्ष दीपकराज जोशी, वडा नं ३ का अध्यक्ष सिंहराज श्रेष्ठ, वडा नं ६ का अध्यक्ष महेश्वर केसी, वडा नं ८ का वडाध्यक्ष केशवबहादुर खत्री र वडा नं ११ का अध्यक्ष उत्तम अधिकारी रहेका थिए।
टोखा वडा नं ८ का वडाध्यक्ष खत्रीले नगरप्रमुखले एकलौटी बैठक सञ्चालन गर्न खोजेपछि आफूहरुले बैठक बहिष्कार गरेको बताए।