काठमाडौं- यो साता एक सय ९१ कम्पनीको दुई सय अर्ब ११ करोड ८८ लाख आठ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । यो कारोबार गएको साताकोभन्दा ५८.४४ प्रतिशत बढी हो ।
यस साता (असार २२-२८) नेपाल स्टक एक्सचेन्जमा एक सय ९१ कम्पनीहरुको २४ हजार तीन सय ७० कारोबारबाट दुई सय अर्ब ११ करोड ८८ लाख आठ हजार रुपैयाँ बराबरका ६१ लाख १२ हजार तीन सय ७० कित्ता सेयरहरु खरिद बिक्री भएको छ ।
नेपाल स्टक एक्स्चेन्ज लिमिटेड (नेप्से) कोअनुसार गएको साता एक सय ८४ कम्पनीहरुको कारोबार भएको थियो । जसमा २० हजार दुई सय ८१ कारोबारबाट एक अर्ब ३३ करोड ७३ लाख ३३ हजार रुपैयाँ बराबरका ४२ लाख ५४ हजार पाँच सय ५० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।
यद्यपि साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ३२.४१ अंकले घटेर अन्तिम दिन बिहीबार एक हजार एक सय ९१.९८ अंकमा पुगेको छ ।
त्यस्तै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि पहिलो दिनको तुलनामा ६.६८ अंकले घटेर दुई सय ५१.०५ अंकमा पुगेको छ ।
एभरेस्ट, कुमारी र रैरङ अग्रस्थानमा
यस साता कारोबार रकम (१५ करोड २५ लाख रुपैयाँ) को आधारमा एभरेस्ट इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ । नेपाल स्टक एक्स्चेन्च कम्पनीको अनुससार कारोबार भएको सेयर संख्या (तीन लाख ९० हजार कित्ता) को आधारमा कुमारी बैंक लिमिटेड संस्थापक अग्रस्थानमा रहेको छ ।
त्यसैगरी कारोबार संख्या (१४४९ वटा) को आधारमा रैरङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ ।
सर्वाधिक रकम कारोबार भएका पाँच कम्पनी
गएको साता भर पाँच कम्पनीको सर्वाधिक रकम कारोबार भएको छ । जसमा एभरेस्ट इन्स्योरेन्स कम्पनी लिमिटेड, प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड संस्थापक, नेपाल दुरसंचार कम्पनी लिमिटेड, लक्ष्मी बैंक लिमिटेड र छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड रहेका छन् । ती कम्पनीहरुले ६ करोड ८० लाखदेखि १५ करोड २५ लाख रुपैयाँसम्मको कारोबार गरेका छन् ।
यो साता नियमित कारोबारका लागि नेप्सेको कारोबार कक्ष पाँच दिन खुला भएको थियो भने संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४