काठमाडौं- हिन्दुका आराध्यदेव पशुपतिनाथको लिंगमा गहनाले झकिझकाउ बनाइएको दृश्य निकै आकर्षक देखिन्छ। दक्षिणकालीको मूर्तिमा चाँदीको गहना लगाइदिँदा श्रद्धालु साक्षात् देवीकै रुप ठान्छन् र पूजा गर्छन्। देवीदेवताका मूर्तिमा लगाइने गरगहना कलाकारको सुन्दर सिर्जना हुन्। जसले मूर्तिलाई मात्र आकर्षक बनाएको हुँदैन कलाकारितालाई पनि चम्काइरहेको हुन्छ। यस्तै कलाकारमध्ये एक हुन् ज्ञानेन्द्र शाक्य।
चार पुस्तादेखि देवीदेवताको मूर्तिका लागि आभूषण बनाउँदै आएका शाक्य परिवारको कलाकर्मले धेरै मूर्ति सजिएको छ। उनले मूर्ति बनाउने कला पनि हजुरबाबाटै सिकेका हुन्।
बाल्यकालमा बुवा रत्नमानको हात समाएर पशुपतिनाथ मन्दिर पुगेदेखि नै ज्ञानेन्द्र शाक्यलाई मूर्तिमा लगाउने गहनाप्रति आकर्षण बढेको थियो। बुवा बर्सेनि पशुपति मन्दिरमा रहेका चाँदीका नाग बनाउँथे। शाक्य भने बुवालाई विभिन्न औजार दिनएर सघाउँथे। यो पेसामा लाग्नुको कारणबारे उनी भन्छन्, ‘बुवाले बनाएको चाँदीको नाग नदेखेको भए यसलाई पछ्याउँदैनथें।’
शाक्य अचेल जमलस्थित सेतो दरबारको पुरानो गेटमा देखिन्छन्। गेटकै दायाँ किनारमा छ उनको रिङपसल। यही पसलमा शाक्यले २० वर्षदेखि पञ्चधातुका रिङ बनाउँदै र बेच्दै आएका छन्। पुर्खाले दिएको सीप र छोडेका औजारसँग खेल्दै पेसालाई निरन्तरता दिइरहेका श्रेष्ठ यसमा असाध्यै गर्व गर्छन्। पसलमा रहँदा घन, निसुकन्डा, पेच, रिङसाइज, कम्पास, आरी, रैती, छिना र तार ब्रस उनीसँगै हुन्छन्। उनी भन्छन्, ‘यी औजार हजुरबाले प्रयोग गर्नुहुन्थ्यो। आज मैले गरिरहेको छु।’ बाबुबाजेले बनाएका औजारबाट अहिले व्यावसायिक काम गरिररहन पाएकोमा उनी आफूलाई भाग्यमानी ठान्छन्।
पसलमा एक दर्जन बढी चाँदीको स्वयम्भू छन्। चाँदीको बौद्ध स्तूप दर्जनौं छन्। भक्तपुर र काठमाडौंका विभिन्न देवल र मन्दिरको पनि आकर्षण बनाएका छन् उनले।
‘म चौथो पुस्ता हुँ। यो काम गर्ने’, शाक्य भन्छन्, ‘म सानो छँदा स्वयम्भूलाई सजाउन कलाकारहरुको जम्बो टिममा हजुरबा पनि जानुभएको थियो।’
हजुरबाले पहिलोपटक इन्द्रचोकको इटुम्बहालमा खोलेको रिङपसलसँगै मन्दिर गुम्बा र देवीदेवताका लागि आकर्षण गहना बनाउने गरेको शाक्य बताउँछन्। त्यो पसलको सम्झना उनलाई त्यति छैन तर त्यही पसल बाले क्षेत्रपाटीमा सारेको उनलाई याद छ। पुर्खाकै पेसालाई निरन्तरता दिन खोज्दै क्षेत्रपाटीबाट शाक्यले जमलमा पसल सारे। जमलमा आएपछि उनले दक्षिणकाली माताका लागि गहना बनाउने मौका पाए।
देवी शक्तिको प्रतीकमात्रै होइनन् सुन्दरताका प्रतीक पनि हुन्। त्यसैले देवीका मूर्ति अनेक आभूषणले सजिएका हुन्छन्। बीस वर्षअगाडि ज्ञानेन्द शाक्यले दक्षिणकाली मातालाई सजाउन गहना बनाएका थिए। सारी, नेकलेस, मुकुट, टप, दुईवटा नाग एकैपटक बनाएको बताउँछन् शाक्य। चाँदीको गहना बनाएर लगाइदिएका ज्ञानेन्द्रले वर्षमा दुईपटक दक्षिणकाली मातालाई सिँगार्दै आएका छन्।
शाक्यले मरुटोलको चारवटा गणेश, सूर्यविनायक, जलविनायक र चन्द्र विनायकका मूर्तिमा चाँदीको गहना बनाएका छन्। पशुपतिनाथका लागि नाग बनाएका छन्। काशी विश्वनाथमा शिवलाई पनि नाग बनाएर पठाएका छन्। उनी भन्छन्, ‘विश्वनाथलाई सम्झिएर बनाएको चाँदीको कवच ठ्याक्कै मिलेको थियो।’
शक्तिपीठमा रहेका पुजारी, विभिन्न गुम्बा र मन्दिर निर्माण समितिका पदाधिकारीको विश्वासका कारण आफूले काम पाउने गरेको उनको भनाइ छ। उनी भन्छन्, ‘दान गर्न चाहनेहरु अझ बढी आउँछन्।’
शाक्य आफूलाई गौतम बुद्धको सन्तान मान्छन्। तर उनले बुद्धका लागि गहना बनाएका छैनन्। बुद्ध र हिन्दु धर्मका देवीदेवताका मूर्तिका लागि गहना धेरै बनाए उनले। ती सबै हुबहु मिलेको दाबी गर्छन् उनी।
पञ्चधातुको रिङ लगाउने फेसन भएको बताउँछन् उनी। देउताको पालादेखि चलिआएको चलन अहिलेसम्म जारी छ। उनी भन्छन्, ‘सुनजस्तै देखिने भएकाले पनि युवा पुस्तामा पनि आकर्षित छ पञ्चधातुको रिङ।’
भगवान्को गहना बनाउने ज्ञानेन्द्रलाई भगवान्प्रति चाहिँ कति आस्था छ त? उनी भन्छन्, 'भगवान्का लागि गहना बनाउनुअघि तिनको नाम जप्ने गरेको छु।' उनी तामा, पित्तल, चाँदी र सुनका मूर्ति पनि बनाउँछन्। मूर्तिका गहनालाई सिँगार्छन्। यसपछि उनलाई मूर्ति नै हाँसिरहेझैं लााग्छ।
शाक्य पञ्चधातुको रिङ मात्रै बनाउँदैनन् पञ्चधातु मिश्रित मूर्ति पनि बनाउँछन्। मूर्तिमा अनेक किसिमका पत्थर लगाउँछन्। ती पत्थर भारतबाट आउँछन्। कुनै नेपालकै हिमाली भेगतिरबाट आउँछ। उनी भन्छन्, ‘१२ वटै राशिको रिङ बनाउँछु।’
धातुको काम गर्दा निकै ध्यान पुर्याउनुपर्ने बताउँछन्। युवा पुस्तामा यस्ता काममा लाग्न धैर्य देख्दैनन् उनी। परम्परागत उही पेसा सन्तानले सिक्न नसकेको देखेर उदास छन् उनी। ‘मेरा छोराछोरीले यो काम गर्न मानेनन्। उनीहरुमा यसमा आकर्षित छैनन्।’ आफूले यही काम गरेर छोराछोरीलाई पढाएकोमा उनी सन्तुष्ट छन्।
रिङ लगाएमा तनाव कम हुन सक्ने विश्वास लिएर पुगेका मानिसलाई रिङ लगाउनुको फाइदाबारे बताउँछन्। ग्राहकको चित्त बुझाएर रिङको व्यापार गर्छन्। उनी भन्छन्, ‘पञ्चधातुले शरीरलाई राम्रो गर्छ।’
पञ्चधातुको रिङ लगाउने फेसन भएको बताउँछन् उनी। देउताको पालादेखि चलिआएको चलन अहिलेसम्म जारी छ। उनी भन्छन्, ‘सुनजस्तै देखिने भएकाले पनि युवा पुस्तामा पनि आकर्षित छ पञ्चधातुको रिङ।’