काठमाडौं- र्यापर आशिष राना 'लाउरे'सहित उनको समूहका ४ जना पक्राउ परेका छन्। प्रहरीले लाउरे र उनीसँगै पक्राउ परेकाहरूको तस्बिर सार्वजनिक गरेको हो।
कास्की प्रहरीका अनुसार बुधबार बेलुकी ७ बजे पोखरा-८ जाल्पारोडबाट लाउरेसहित चार जना पक्राउ परेका हुन्। लागुऔषध कारोबारको सूचनाका आधारमा कास्की प्रहरीले उनीहरूलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको हो।
पक्राउ पर्नेमा पोखरा-९ नयाँबजारका ३२ वर्षीय लाउरे भन्ने आशिष राना, वडा नं. २१ घर भइ हाल वडा नं. १७ छोरेपाटन बस्ने ३८ वर्षीय ध्रुवबहादुर थापा र कास्की रुपा गाउँपालिका वडा नं. ७ घर भइ हाल पोखरा महानगरपालिका वडा नं. १ बस्ने ३० वर्षीय बिक्की भनिने नविनकुमार गुरुङ छन्।
यस्तै स्याङ्जा भीरकोट नगरपालिका-७ घर भइ हाल पोखरा महानगरपालिका ८ सभागृह बस्ने २२ वर्षीया सुस्मिता गुरुङ पनि पक्राउ परेकी हुन्।
उनीहरूको साथबाट ०.५१ ग्राम र सुस्मिता गुरुङको कोठामा लुकाएको १२.५० ग्राम ब्राउनसुगर फेला परेको प्रहरीले जनाएको छ। यस्तै प्रहरीले डिजिटल तराजु १ थान, नगद ३८ हजार ३५० रुपैयाँ, मोबाइल सेट ५ थान स्कुटर १ थान बरामद भएको छ। कास्की जिल्ला अदालतबाट ८ दिनको म्याद लिएर उनीहरूमाथि अनुसन्धान थालिएको प्रहरीले जानकारी दिएको छ।