काठमाडौं– हरर जनरामा निर्माण भएको चलचित्र ‘कठपुतली’ आज शुक्रबारबाट देशभर एकसाथ प्रदर्शनमा आएको छ। बुधबार राजधानीमा भएको प्रिमियरमा चलचित्रकर्मीबाट राम्रो प्रतिक्रिया बटुलेको चलचित्रले ठूलो संख्यामा सिंगल हल र देशभर मल्टिप्लेक्सहरुमा सयभन्दा बढी शो पाएको छ।
हलिउड फिल्म स्पाइडर म्यान र दक्षिण भारतीय फिल्म पुष्पाको आक्रामक व्यापारका बाबजुद पनि मल्टिप्लेक्स हलहरुले कठपुतलीलाई राम्रो शोहरु दिएका छन्।
नेपालको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले शुक्रबारका लागि देशभरका स्टेसनमा १४ शो दिएको छ। बिग मुभिज, क्यूज सिनेमाज, विएसआर मुभिज, वान सिनेमाज, एफक्यूब, सिडिसी सिनेमाज, आइएनआइ सिनेमाज, कीर्तिपुर सिनेप्लेक्स लगायतका मल्टीप्लेक्समा पनि चलचित्रले राम्रो शो पाएको छ। देशभरका मल्टिप्लेक्सहरुमा शुक्रबारको बुकिङ राम्रो रहेकाले शनिबारबाट शो बढ्ने फिल्मका बजार व्यवस्थापक सागर खरेलले बताए।
प्रदर्शनभन्दा अगाडि निर्माण टिमले सार्वजनिक गरेको दुईवटा ट्रेलरले दर्शकमा चलचित्रप्रति कौतूहल जगाएको थियो। मिथिला शर्मा, गौरी मल्ल, कर्मा, उषा रजक, शिल्पा मास्के, सुवर्ण थापा, ध्रुव कोइराला लगायतको भूमिका रहेको चलचित्रलाई भीमसेन लामाले निर्देशन गरेका हुन्। पृथ्वी राना मगरले निर्माण गरेको चलचित्रको सहनिर्मातामा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा छन्।
अष्ट्रेलियाका छायाकार जोएल फ्रूमले चलचित्र खिचेका हुन्। चलचित्रले राजाहरुको शासन कालमा महिलामाथि हुने दमन र त्यसको प्रतिफलको कथा भनेको छ। चलचित्रको कथा सम्पदा मल्लले लेखेकी हुन्। बुधबार राजधानीमा भएको चलचित्रको प्रिमियरमा उपस्थित अधिकांश चलचित्रकर्मीले छायांकनदेखि कलाकारको अभिनयसम्मको मुक्तकण्ठले प्रशंसा गरेका थिए।