काठमाडौं- नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतको खपत बढेकोले ट्रान्सफर्मर परिवर्तन गर्दा बिजुली गइरहने समस्या भएको बताएका छन्।
शुक्रबार प्रधिकरणमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख कार्यकारी निर्देशक घिसिङले विद्युतको खपत बढेकोले ट्रान्सफर्मर परिवर्तन गर्दा बिजुली गइरहने समस्या भएको र शुक्रबारबाट यो समस्या समाधान हुने बताएका हुन्।
माग धान्न नसकेर बत्ती जाने समस्या नभएको स्पष्ट पार्दै कार्यकारी निर्देशक घिसिङले जति माग आए पनि आपूर्तिमा कुनै समस्या नरहेको दाबी गरे। काठमाडौं उपत्यकामा ९ वटा सबस्टेशन थप्न लागिएकाले उक्त सबस्टेशन बनिसकेपछि दीर्घकालीन रुपमा उपत्यकामा २ हजार मेगावाटको विद्युत सप्लाई गर्न सक्ने बताए।
प्रमुख कार्यकारी निर्देशक घिसिङले केही ट्रान्सफर्मर लोडअनुसार फेरिरहेको र केही फिडरमा आगलागी भएको कारणले यी समस्या आइरहेको बताए।
‘विगत ३/४ दिनदेखि विद्युत आपूर्तिमा केही समस्याहरु देखियो भन्ने जनगुनासोहरु आयो। यो समस्या देशभित्र सबैतिर भएको समस्या होइन। काठमाडौंमा मात्रै हो। यो सप्लाईको कारणले भएको समस्या होइन। सप्लाई नपुगेको हुनाले हामीले आपूर्ति नभएको पनि होइन। काठमाडौंका सबै ठाउँमा यो समस्या आएको पनि होइन,' उनले थपे, 'केही ठाउँहरुमा मात्र समस्या भएको हो। बास्तवमा हाम्रो विद्युतको बेलुकाको पिक लोड अहिले करिव १७ सय मेगावाट र बिहानको करिव साढे १५ सयदेखि १६ सय मेगावाट पिक लोड आइरहेको छ। त्यसमा हामीले सप्लाई गर्न सकिरहेका नै छौँ।'
माथिल्लो तामाकोशी आइसकेपछि बिहान र बेलुकाको पिकलाई सहज भएको उनको भनाइ छ। काठमाडौंमा जाडो बढेलगत्तै विद्युतको खपत बढ्नु स्वभाविक हो। विगत वर्षभन्दा अहिले ८० देखि १०० मेगावाट काठमाडौंको लोड बढेको छ।
'पानी परेपछि ठाउँ ठाउँमा हाम्रो लोडहरु अनपेक्षित रूपमा बढ्यो। त्यसले गर्दा सिस्टममा सबस्टेसनबाट फिडरहरु निस्किन्छ, काठमाडौं भित्र धेरै सबस्टेसनहरु छन्। जसले काठमाडौं भित्रको लोडलाई सप्लाई गरिरहेको छ। काठमाडौं उपत्यकामा मात्रै करिव ३७ सय ट्रान्सफर्मरहरु छन्। त्यसबाट हाम्रो आ उपभोक्तलाई सप्लाई हुन्छ। यदि फिडरमा नै समस्या आएको छ भने १०/२० वटा ट्रान्सफर्मरहरुमा समस्या आउने हुन्छ,' कार्यकारी निर्देशक कुलमानले थपे, 'अहिलेको मेजर समस्या वितरण ट्रान्सफर्मरहरु ओभरलोड भएको हो। लोडअनुसार हामीले ट्रान्सफर्मरहरु फेर्ने काम गरिरहेका छौँ। केही फिडरहरुमा पनि आगलागी भयो। केही स्थानमा भने ट्रान्सफर्मरहरु पछि पनि केवलहरु घरमा जान्छ, त्यसमा आगलागी भएकोले फेर्दा समस्या आएको हो।’
प्रमुख कार्यकारी निर्देशक घिसिङले आजबाट उपत्यकामा ट्रान्सफर्मरहरु परिवर्तन गरिसक्ने भएकोले विद्युत जाने समस्या नहुने उनको दाबी छ। केही स्थानमा त्यहाँका बासिन्दाहरुले सबस्टेशन बनाउन नदिएकोले पनि समस्या आउने गरेको उनले आग्रह गरेका थिए।