विराटनगर‒ प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले गुरुङ जातिले मनाउने तमु ल्होसारका अवसरमा बिहीबार शुभकामना सन्देश दिएका छन्। देश, विदेशमा बस्ने सम्पूर्ण गुरुङ(तमु) दाजुभाइ, दिदीबहिनीहरूसहित सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु र प्रगतिको शुभकामना व्यक्त गरेका हुन्।
मुख्यमन्त्री राईले नेपाल सदियौंदेखि बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक मुलुकका रूपमा रहेको उल्लेख गर्दै यो कुरालाई नेपालको संविधानले स्वीकारसमेत गरेको शुभकामना सन्देशमा उल्लेख गरेका छन्। उनले सन्देशमा भनेका छन् ‘त्यतिमात्र होइन यो विविधता नेपाल र नेपालीको पहिचान, गहना र सम्पत्तिसमेत बनिसकेको छ, त्यसैले सबै भाषा, धर्म, संस्कृति, चाडपर्वको संरक्षण एवम् सम्बद्र्धन गर्नु राज्य र सम्पूर्ण नेपालीको साझा दायित्व हो।’
नेपालीले मनाउने पर्वहरूबाट सबैमा एकताको भावना विकास गराउन सहयोग पुग्ने मुख्यमन्त्री राईले विश्वास व्यक्त गरेका छन्।