विराटनगर‒ करिब १६ करोड घोटला गरेको आरोपमा सप्तकोशी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नवीन सुवेदी सहित ४ जना पक्राउ परेका छन्। १५ करोड ७५ लाख ४० हजार ५७५ रुपैयाँ रकम हिनामिना भएको बैंकिङ कसूरको मुद्दामा सिईओ सुवेदीसहित बैंकका अपरेसन प्रमुख अमित थापा मगर, वित्तिय प्रमुख देवीप्रसाद भण्डारी र जनरल सर्भिस डिपार्टमेन्ट प्रमुख हिमाल भट्टराईलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको हो।
भट्टराई एक साता अघि पक्राउ परेका व्यक्ति हुन्। प्रहरीले बुधबार साँझ सुवेदीसहित ३ जनालाई पक्राउ गरिएको जनाएको छ। घटनाको अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले बताए।
बैंकबाट गायब गरिएको अधिकांश रकम प्रमुख कार्यकारी अधिकृतकै आफन्तको खातामा जम्मा भएको पाइएपछि उनीहरू पक्राउ परेका हुन्। मोरङको बुढीगंगामा प्रधान कार्यालय भएको सप्तकोशी डेभलपमेन्ट बैंकको कर्पोरेट कार्यालय विराटनगरमा छ। कर्पोरेट कार्यालयबाट रेमिट्यान्सको १५ करोड ७० लाख रुपैयाँ हिनामिना भएको खुलेको थियो।
पछिल्लो ६ वर्षयता फर्जी कारोबारको कागजात बनाएर रेमिट्यान्सको ठूलो रकम हिनामिना भएको खुलेको छ। घोटला प्रकरणमा बैंकको कर्पोरेट कार्यालयका जनरल सर्भिस डिपार्टमेन्ट (जीएसडी) प्रमुख हिमाल भट्टराईलाई जिल्ला प्रहरी मोरङले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। सीईओ सुवेदीका फुपुका छोरा हुन् भट्टराई।
हिमालका बुवा अम्बिकाप्रसादले सिईओ सुवेदीले आफ्नो छोरालाई फसाएको दावी गरेका छन्। सुवेदीमाथि अनुसन्धान हुनुपर्ने उनीहरुले बताउँदै आएका थिए।
सीईओ सुवेदीकी दिदी पर्ने बबिता सुवेदीको नाममा मात्रै १४ करोडभन्दा बढी रकम ‘ट्रान्सफर’ भएको नेपाल राष्ट्र बैंकमा परेको उजुरीमा उल्लेख छ। सन् २०१६ देखि २०२१ अगस्ट २ तारिखसम्ममा बबिताको नाममा रहेको प्राइम बैंकको खाताबाट १४ करोड गैरकानुनी ढंगबाट निकालिएको बताइएको छ।
सीईओ सुवेदीकी भाउजू भगवती सुवेदी, सालो साजन पोखरेल जेठी सासु बानी पोखरेललगायतको खातामा रकम पठाएको दावी उजुरीमा उल्लेख छ। करिब १६ करोड घोटला घटनाका कारण बैंकका निक्षेपकर्ता तथा लगानीकर्ताको रकममा कुनै आँच नआउने बैंकका अध्यक्ष प्राडा अर्जुन बरालले बताए।