शुक्रबार, असोज १६, २०८३

२० वर्ष पहिल्यै बिजुली पुगे पनि गाउँ अँध्यारै!

साँझको समयमा बढी विद्युत माग बढी हुने भएपनि बत्तीसमेत बल्दैन, टिभी हेर्ने त कुरै भएन। बत्तीमुनिका अँध्यारोमा बस्नुपर्ने बाध्यता छ,' भट्टराईले भने।
 |  बुधबार, पुस १४, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, पुस १४, २०७८

पाल्पा- पाल्पाको बगनासकाली–१, चिर्तुङधारा सन्ढापका घरघरमा विद्युत्का मिटरबक्स, बत्ती जडान छन्। करिब बीस वर्ष पहिला जडान गरिएका बत्तीको उज्यालो उपभोग गर्न भने स्थानीय बञ्चित छन्।

महिना महिनामा विद्युत् शुल्क बुझाउनुपर्ने बाध्यता उस्तै छ। तर, अध्यारो हटाउन टुकी वा मैनबत्तीको साहरा लिनुपर्ने बाध्यता हटेको छैन। विसं २०५८ मा विद्युतीकरण भए पनि हालसम्म थ्रिफेज लाइन विस्तार नहुँदा साँझ बिहान बत्ती बल्दैन। बिजुली पुगेको स्थान सन्ढाप साँझ परेपछि अँध्यारो हुन्छ। 

रेडियो, टिभी चलाउन तथा मोबाइल चार्जमा समस्या हुँदै आएको स्थानीय बासिन्दा लक्ष्मीप्रसाद न्यौपानको गुनासो छ। 'बत्ती बले पनि जुनकीरी बलेझैं बल्ने र मोबाइलसमेत चार्ज नहुने समस्या रहेको छ,' उनको गुनासो छ। स्थानीय बासिन्दाले पटक–पटक वडा, गाउँपालिका, तथा नेतालाई यस विषयमा विद्युत्को समस्या सम्बन्धी जानकारी गराए पनि सुनुवाइ नहँुदा अध्यारोमा बाँस बस्नुपर्ने बाध्यता छ। त्यसमाथि बालबालिकालाई साँझमा विद्युत्को साहयतामा अध्ययन गर्न समस्या हुँदै आएको उनीहरुको गुनासो छ।

३० घर बढी बासिन्दा रहेको सन्ढापमा विद्युत् विस्तार भए पनि बिहान साँझ विद्युतबाट हुने सबै काम रोकिन्छ। जसले गर्दा स्थानीयवासीले बत्ती बाल्ने, मोबाइल चार्ज गर्ने, सञ्चारमाध्यमको प्रयोग गर्नेलगायतका कामबाट वञ्चित हुनुपरेको छ। 

स्थानीयवासी गोविन्द भट्टराई नेतृत्वको सन्ढापका बासिन्दाले लामो समयले विद्युत्को पूर्ण सेवा प्रयोग गर्नबाट वञ्चित भएको बताए। 'साँझको समयमा बढी विद्युत माग बढी हुने भएपनि बत्तीसमेत बल्दैन, टिभी हेर्ने त कुरै भएन। बत्तीमुनिका अँध्यारोमा बस्नुपर्ने बाध्यता छ,' भट्टराईले भने। 

स्थानीयवासीले नेपाल विद्युत् प्राधिकरण पाल्पामा थ्रिफेज लाइन विस्तार गर्न ज्ञापनपत्र बुझाएको हुन्। प्राधिकरण प्रमुख इञ्जिनीयर विवेक आचार्यले सन्ढापको स्थलगत निरीक्षण गरी समस्या समाधान गर्ने बताए। वास्तविक समस्याको पहिचान गरी विद्युत् सेवाको पहुँच विस्तार गर्न प्राधिकरण कार्यालय तयार रहेको उनले बताए। 

सरकारले घर–घरमा विद्युत्को खपत बढाउन अनुरोध गरिरहेको बेला ग्रामीण क्षेत्रमा जडान गरिएका सेवाको उचित रुपमा प्रयोग नपाउँदा नागरिक उत्साहित छैनन्।

प्रकाशित: Dec 29, 2021| 16:59 बुधबार, पुस १४, २०७८
प्रतिक्रिया दिनुहोस्