काठमाडौं– दुई दिन लगातार तल झरेको सेयर बजार मापक नेप्से परिसूचक बुधबार छिनो अंकले वृद्धि भएको छ। बुधबार नेप्से परिसूचक र कारोबार रकमसमेत मंगलबारको तुलनामा सामान्य सुधार भएको छ। आज नेप्से परिसूचक ५.५१ अंक बढेर २ हजार ५२४.५० विन्दुमा पुगेर बन्द भएको छ। त्यस्तै आज ठूला कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स ०.२६ अंक, फ्लोट इण्डेक्स ०.२३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स पनि ०.०१ अंक बढेको छ।
आज कारोबारमा आएका २२८ कम्पनीको ५६ लाख ३८ हजार कित्ता शेयर ३ अर्ब ६२ करोड ३४ लाख ८० हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। मंगलबार ३ अर्ब १२ करोडको शेयर खरिदबिक्री भएको थियो।
नेप्से परिसूचकका १३ उपसमूहमध्ये ८ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ५ उपसमूहको परिसूचक घटेको छ। जसमा निर्जीवन बिमा उपसमूहको परिसूचक सबैभन्दा धेरै २.२१ प्रतिशत बढेको छ। अन्य उपसमूहको परिसूचक ०.९९ प्रतिशत, उत्पादन तथा प्रशोधनको ०.८४ प्रतिशत, होटल तथा प्रशोधनको ०.५७ प्रतिशत, लघुवित्तको ०.२४ प्रतिशत, म्युचुअल फण्डको ०.१३ प्रतिशत, जलविद्युतको ०.०९ प्रतिशत र बैंकिङ्ग उपसमूहको ०.०४ प्रतिशत बढेको छ। तर, विकास बैंक ०.७ प्रतिशत, व्यापार र जीवन बिमाको ०.५ प्रतिशत घटेको छ।
आज सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको ५२ करोड ५५ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। दोस्रो नबिल बैंकको ४७ करोड ७१ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।