काठमाडौं– कर्णाली प्रदेश सरकारले मध्यपश्चिम विश्वविद्यालयलाई १० करोड रकम उपलव्ध गराउने भनेर घोषणा गरे पनि नौ महिनासम्म घुमाएर उपलब्ध नगराएको उपकुलपति प्रा. डा.नन्दबहादुर सिंहले बताएका छन्। विश्वविद्यालयका पछिल्ला गतिविधिबारे जानकारी दिँदै उपकुलपति सिंहले प्रदेश सरकारले विश्वविद्यालय र यसको गरिमालाई बढाउने विषयमा ध्यान नदिएको बताए।
उनले भने, ‘११ वटा विश्वविद्यालयमध्ये मध्यपश्चिम विश्वविद्यालयले ९८.७२ प्रतिशत खर्च गरेका छौं। प्रदेश सरकारले दश करोड दिन्छु भनेर दिएको छैन। अनावश्यक दुःख दिएको छ। विश्वविद्यालय राम्रो बनाउन हामी काम गरेर देखाउँछौँ। नौ महिना घुमाएर बजेट रोक्ने काम गरेको छ। के–के खोजेका हुन् थाहा छैन। पैसा नदिने अनि खर्च गर्न सकेन भनेर पोलिटिकल भाषा प्रयोग गर्ने?’
विश्वविद्यालयलाई बनाउनका लागि सबैले सहयोग गर्नुपर्ने भन्दै उपकुलपति सिंहले बजेट खर्च गर्न आफूहरु सक्षम भएको र गलत तरिकाले दुःख दिने काम गर्न नहुने बताए।
यसैबीच, विश्वविद्यालयले ‘एमयु अवार्ड’को पनि घोषणा गरेको छ। विश्वविद्यालयले १५ विधाका ४० जनालाई ‘एमयु अवार्ड’ दिने उपकुलपति सिंहले घोषणा गरेका हुन्। अनुसन्धान र विकासमा विश्वविद्यालयले ध्यान दिने, पाठ्यक्रम परिवर्तन गर्ने, २५ जना अन्तर्राष्ट्रय विश्वविद्यालयमा कार्यरत विज्ञ प्राध्यापकलाई मध्यपश्चिम विश्वविद्यालयमा ल्याउने तयारी गरेको उनको भनाइ छ। विश्वविद्यालयमा कार्यरत प्राध्यापक तथा कर्मचारी, सुरक्षा गार्ड र अध्ययनरत विद्यार्थीलाई हौसला प्रदान गर्न अवार्ड स्थापना गरिएको विश्वविद्यालयले जनाएको छ।
यस्ता छन् अवार्ड शीर्षक
१. एमयु कुलपति अवार्ड
२. एमयु पारदर्शिता र भ्रष्ट्राचार विरुद्धको उपकुलपति अवार्ड
३. एमयु ‘गेम चेञ्ज’ एम्बेसडर अवार्ड
४. उपकुलपति विद्यार्थी अवार्ड
५.उत्कृष्ट रिसर्चर अवार्ड
६. शंकायगत क्षेत्र अवार्ड
७. क्याम्पस इन्स्टिचियुट र स्कुल पर्फमेन्स अवार्ड
८.संस्थागत स्वच्छता र सुन्दर अवार्ड
९. एमयु अन्तर्राष्ट्रिय प्रोफेसर अवार्ड
१०.एमयु अन्तर्राष्ट्रिय विद्यार्थी अवार्ड
११.अन्तरसंकाय प्रोफेसनल अवार्ड
१२.एमयु पङ्च्वालिटी अवार्ड
१३. एमयु इमान्दारिता अवार्ड
१४. खोज तथा प्रकाशन अवार्ड
१५.उत्कृष्ट डिन अवार्ड