काठमाडौं– नेपाल प्रहरीले सुरक्षाकर्मीमा बढ्दो आत्महत्याको क्रम रोक्न विस्तृत अध्ययन गर्ने भएको छ। काठमाडौंमा सोमबार आयोजित पत्रकार सम्मेलनमा नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले सुरक्षाकर्मीले नै आत्महत्या गरिरहेको कारण सम्बोधन गर्ने गरी बिस्तृत अध्ययन गरिने बताएका हुन्।
उनले विगत ५ वर्षयताको जानकारीमा १३÷१४ जना विभिन्न तहका सुरक्षाकर्मीहरुले आत्महत्या गरिसकेको र अधिकांश सुरक्षाकर्मीको आत्महत्याको कारण डिप्रेसनका रहेको जानकारी दिए। प्रवक्ता कुँवरले यस विषयलाई समाधान र सम्बोधन गर्न नेपाल पुलिसले मात्रै नसक्ने भएकाले केन्द्रीय सरकारदेखि प्रदेश र स्थानीय सरकारहरुको सहकार्यमा कारण खोजेर समस्या समाधान गरिने बताए। उनले बीचमा नै जागिर छोडेर हिँड्ने सुरक्षाकर्मीहरुको हकमा भने अवसरको खोजी मात्र भएको र यो स्वाभाविक प्रक्रिया भएको भनाइ राखे।
प्रवक्ता कुँवरले भने, ‘अवसरको खोजीमा बीचमै जागिर छोड्ने काम भइरहेको छ। बाहिर सुरक्षा गार्ड लगायत अन्य कुरामा भिसा आउनेबित्तिकै यताबाट छोड्ने अवस्था छ। अवसरको खोजी स्वाभाविक प्रक्रिया हो। विगतको अवस्थाभन्दा अहिलेको अवस्थामा मनोबल परिवर्तन भएको छ।
उनले आर्थिक वर्षको सुरुका पाँच महिनामा देशभर १ हजार ३२६ वटा सीसी क्यामेरा जडान गरिएको बताए।
प्रवक्ता कुँवरले ट्राफिक भत्ताको कुरा सम्बोधन हुने र कोभिडको बेला अग्रपंक्तिमा रहेर काम गर्ने सुरक्षाकर्मीहरुको भत्ता आउने सम्भावना भने न्यून रहेको बताए।