काठमाडौं– हिमालयन बैंकले यही पुस ३० गतेलाई २९औँ वार्षिक साधारणसभा बोलाएको छ। यही ९ गते बसेको सञ्चालक समितिको बैठकले उक्त मितिमा साधारणसभा डाक्ने निर्णय गरेको हो।
साधारणसभामा छवटा सामान्य र आठवटा विशेष प्रस्तावमा छलफल हुने बैंकले प्रकाशित गरेको सूचनामा उल्लेख छ।
विशेष प्रस्तावमा बैंकको पुँजी १६ अर्ब पुर्याउने, त्यसका लागि २१।३८ प्रतिशतले बोनस सेयर स्वीकृत गर्ने, सामाजिक उत्तरदायित्वबापतको १ करोड ७१ लाख अनुमोदन गर्ने उल्लेख छ।
यसबाहेक हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड एकआपसमा मर्जर गर्ने प्रयोजनको लागि टीआर उपाध्याय एन्ड कम्पनी चार्टर्ड एकाउन्टेन्ट्सबाट प्राप्त दुवै संस्थाको सम्पत्ति, दायित्व तथा कारोबार मूल्यांकन प्रतिवेदन बमोजिम सिफारिस गरिएको सेयर आदानप्रदान अनुपातमा व्यावसायिक अवसरहरु, व्यावसायिक प्रतिष्ठा, कर्मचारीको योग्यता, क्षमता, दक्षता तथा कार्यकुशलता, बजार उपस्थिति, मुनाफा वितरणको इतिहास, पछिल्लो सेयरबजार मूल्य समेतका आधारमा स्वाप रेसियो १ः१ अनुपात हुने गरी नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्ज गर्न स्वीकृति प्रदान गर्ने पनि विशेष प्रस्तावमा उल्लेख छ।
मर्जसम्बन्धमा भएको सम्पत्ति, दायित्व, तथा कारोबारको मूल्यांकनकर्ताको नियुक्ति, सम्पत्ति तथा दायित्व मूल्यांकन प्रतिवेदन, समझदारीपत्र, तथा अन्तिम सम्झौतापत्रलगायतका सबै कामकारबाहीलाई स्वीकृति प्रदान गर्ने उल्लेख छ।
त्यसैगरी दुवै बैंकको मर्जरपछि हिमालयन एन्ड नेपाल इन्भेष्टमेन्ट बैंक लि। नामकरण गरी एकीकृत कारोबार गर्ने कार्यलाई पनि स्वीकृति प्रदान गरिने भएको छ।
दुवै बैंक मर्जर गर्ने प्रक्रियामा राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड लगायतका नियमनकारी निकायबाट स्वीकृति लिने पनि उल्लेख छ। त्यस्तै अभिलेख गर्ने क्रममा भए गरेका काम कारबाही वा पुँजी संरचना वा प्रबन्धपत्र र नियमावली संशोधनका लागि नियमनकारी निकायबाट संशोधन, परिमार्जन तथा थपघट गर्न कुनै निर्देशन प्राप्त भएमा सोही बमोजिम संशोधन परिमार्जन गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी समेत प्रदान गरिने विशेष प्रस्तावमा उल्लेख छ।