काठमाडौं– चौधरी फाउण्डेसनले कान्ति बाल अस्पतालमा इमरजेन्सी वार्डको स्तरोन्नती गर्ने भएको छ ।
फाउन्डेसन र अस्पतालबीचमा भएको सम्झौता अनुसार फाउण्डेसनले भवनको स्तरोन्नती गरि हालको १२ शैयालाई विस्तार गरि २५ शैयाको इमरजेन्सी वार्ड निर्माण गर्ने भएको हो । चौधरी फाउण्डेसन चौधरी ग्रुपको सामाजिक गतिविधिमा सक्रिय इकाइ हो ।
शुक्रबार अस्पतालमा आयोजित एक कार्यक्रमबीच फाउण्डेसनका तर्फबाट उपाध्यक्ष निर्वाण चौधरी तथा अस्पतालका तर्फबाट निर्देशक अजित रायमाझीले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।
‘हाम्रा बालबालिकाको भविष्य सुनिश्चित गर्नु हाम्रो कर्तब्य हो,’ चौधरी फाउण्डेसनका अध्यक्ष विनोद चौधरीले भने, ‘त्यसैले हामीले बालबालिकाको स्वास्थ्य र शिक्षामा विशेष ध्यान दिनुपर्छ ।’ अध्यक्ष चौधरीले दुर–दराजसम्मका सर्वसाधरण र निम्न आर्थिक स्तर भएका नागरिकका सन्ततीले पनि सर्वसुभल र गुणस्तरिय उपचार सेवा पाउन भन्ने ध्ययले आफुहरुले कान्ती बाल अस्पताललाई सहयोग गरेको बताए ।
अस्पतालका तर्फबाट बोल्दै निर्देशक प्राडा अजित रायमाझीले चौधरी फाउण्डेसनले गरेको सहयोगका लागि कृतज्ञता व्यक्त गरे । उनले चौधरी फाउण्डेसनबाट आगामी दिनमा पनि निरन्तर सहयोग पाउनेमा विश्वस्त रहेको बताए ।