काठमाडौं- जिल्ला प्रहरी कार्यालय पर्साले एक महिनाका अवधिमा करिब एक करोड ५० लाखभन्दा बढी बराबरको अवैध मालसामान बरामद गरी भन्सार कार्यालय र राजस्व अनुसन्धान कार्यालय पथलैयामा पठाएको छ।
प्रहरी टोलीले अवैधरुपमा भन्सार छली भित्र्याइएका विभिन्न सामग्री बरामद गरी उक्त मूल्य बराबरको सामग्री ती कार्यालयलाई बुझाएको हो।
प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले अवैधरुपमा भन्सार छली भित्र्याइएका विभिन्न सामग्री बरामद गर्ने अभियान सञ्चालन गरिएको जानकारी दिए। उनले गत मंसिर १२ गते पर्साको प्रहरी प्रमुखको रुपमा कार्यभार सम्हालेका थिए।
गत मंसिर महिनामा एक करोड १३ लाख ७० हजार ९३७ र यही पुस महिनाको १० गतेसम्म ३४ लाख १७ हजार ८०० बराबरको भन्सार छलीका सामग्री प्रहरीले बरामद गरी भन्सार पठाएको छ।