काठमाडौं– नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०७८–७९ को पहिलो चार महिनामा प्रणालीमा रहेको विद्युत चुहावट घटेको दावी गरेको छ। आइतबार विज्ञप्ति जारी गर्दै प्राधिकरणले प्रणालीमा रहेको विदुत चुहावट घटेर १४.३५ प्रतिशतमा पुगेको दावी गरेको हो।
यसअघि नियमित रुपमा विद्युत् आपूर्ति र प्राविधिक तथा गैरप्राविधिक चुहावट १७.१८ प्रतिशत थियो। ‘चुहावट नियन्त्रणका लागि सञ्चालन गरिएको अभियानबाट प्राधिकरण गत आवमा प्रणालीको १७.१८ प्रतिशतको चुहावटलाई चालु आवको चार महिनामा २.८३ प्रतिशत विन्दुले घटाएर १४.३५ प्रतिशतमा सीमित गर्न सफल भएको छ,’ प्राधिकरणको विज्ञप्तिमा उल्लेख गरिएको छ।
कात्तिकसम्ममा प्रणालीमा रहेको चुहावटमध्ये वितरणतर्फ ९.२४ प्रतिशत रहेको र बाँकी प्रसारण तथा उत्पादनतर्फको रहेको प्राधिकरणको भनाइ छ। प्राधिकरणका अनुसार गत वर्षको कात्तिकसम्म वितरणतर्फको चुहावट १२.०१ प्रतिशत रहेको थियो । गत आवको चार महिनाको तुलनामा यस वर्ष वितरण तर्फको चुहावट २.७७ प्रतिशतले घटेको प्राधिकरणको भनाइ छ।
प्राधिकरणले चालु आवमा विद्युत चुहावट १५.५ प्रतिशतमा झार्ने लक्ष्य राखेको छ । आर्थिक वर्षको पहिलो चार महिनामै लक्ष्यभन्दा कम चुहावट रहेकाले आवको बाँकी अवधिमा लक्ष्य पूरा हुने देखिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए।