विराटनगर‒ नेरुडे लघुवित्त वित्तीय संस्थाले २१ प्रतिशत बोनस शेयर दिने भएको छ। विराटनगरमा शनिबार सम्पन्न १५औं वार्षिक साधारणसभाले २१ दशमलव ४८७ बोनस शेयर र १ दशमलव १३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय पारित गरेको छ।
सञ्चालक समितिका अध्यक्ष डा. भेषप्रसाद धमलाले आर्थिक वर्ष २०७७/०७८ मा १ लाख ४८ हजार ३२ घर परिवारमा लघुवित्त सेवा पुर्याई ९० हजार १७८ ऋणी सदस्यलाई ७ अरब ९० करोड ऋण लगानी बताए। उनले २ अरब ६१ करोड बचत संकलन गरी सम्पूर्ण कारोबार समावेश पछिको खुद मुनाफा १९ करोड १० लाख ६४ हजार ८ सय ४६ रुपैयाँ ५७ पैसा आर्जन गरेको साधारणसभालाई जानकारी गराएका थिए।
वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत भोजराज बस्यालले संस्थाको चुक्ता पुँजी ६० करोड पुगेको जानकारी दिए। साधारणसभाबाट सर्वसाधारण शेयरधनीहरू मध्येबाट सुधिरकुमार श्रेष्ठ र बलराम बराललाई वित्तीय संस्थाको सञ्चालकमा निर्विरोध चयन गरेको छ। नेरुडे लघुवित्त वित्तीय संस्थाले ३१ जिल्लाका १०७ वटा शाखा कार्यालय मार्फत १ लाख ५४ हजार परिवारलाई लघुवित्त सेवा दिइरहेको प्रमुख कार्यकारी अधिकृत बस्यालले बताए।
साधारणसभाको अवसरमा उत्कृष्ट लक्ष्य प्रगति गर्ने शाखाहरू तेतरिया, चिमडि, झुम्का र बोदेबर्साइनलाई २५‒२५ हजार नगद सहित सम्मानित गरिएको छ।