इस्तानबुल- टर्की र कतारले काबुलको अन्तरराष्ट्रिय विमानस्थल र अफगानिस्तानका अन्य चार विमानस्थलको व्यवस्थापनका लागि तालिवानसँग सम्झौता गरेको स्पुतनिकले जनाएको छ।
उक्त वार्ता प्रभावकारी रहेको र जसमा उनीहरू आगामी दिनमा सञ्चालनको विवरणमा काम गर्न प्राविधिक समूह सिर्जना गर्न सहमत भएका छन्। 'दोहा र अंकाराले संयुक्तरूपमा काबुल अन्तरराष्ट्रिय विमानस्थल सञ्चालन गर्न सहमत भएका छन्,' स्रोतहरूले भने।
टर्की-कतारी प्रतिनिधिमण्डलले संयुक्त कार्यलाई निरन्तरता दिन छिटै काबुल भ्रमण गर्ने पनि स्पुतनिकले रिपोर्ट गरेको छ।
यसअघि अगस्ट ३१ मा अमेरिकी सेना फिर्ता भइसकेपछि कतारको प्राविधिक टोलीले काबुल अन्तरराष्ट्रिय विमानस्थल मर्मत गरेको थियो।
अगस्तको मध्यमा तालिबानले सत्ता कब्जा गरेपछि काबुलको अन्तरराष्ट्रिय विमानस्थल र अफगानिस्तानभरि अन्तरराष्ट्रिय र स्थानीय उडानहरू स्थगित गरिएको थियो।