तेह्रथुम- तेह्रथुम र संखुवासभा जिल्लाको सीमावर्ती उच्च लेकाली क्षेत्रको तिनजुरे, मिल्के, जलजले (टीएमजे) क्षेत्र र आसपासका चौकी, गुफापोखरी क्षेत्रमा हिउँ परेको छ। शुक्रबार दिउँसो परेको हिमपातका कारण पशुचौपाया र मानव जनजीवन प्रभावित भएको छ।
पानीसँगै परको हिउँका कारण अत्यधिक चिसो बढेपछि जनजीवन कष्टकर भएको स्थानीय छिरिङ शेर्पाले बताए। हिउँ परेका कारण सडकसमेत अवरुद्ध बनेको छ।
हिउँले यतिबेला टिएमजे क्षेत्र ढाकेर सेताम्य बनेको छ। हिउँ परेका कारण सडक अवरुद्ध हुँदा दर्जनौँ सवारी साधनबीच बाटोमै थन्किएका छन्। यस क्षेत्रमा पाल्दै आएका चौरी, गाईभैसी र भेडाबाख्रा चरनमा समेत समस्या भएको स्थानीयले बताएका छन्।
हिउँ परेका कारण बजार क्षेत्रमा चहलपहल कम भएको टुटे देउरालीका श्री कार्कीले बताए। ‘पानीसँगै हिउँ परेको कारण जाडो अत्यधिक बढेको छ। जाडोका कारण पशुचौपया र मानिसलाई कष्ट बनेको छ,' उनले भने। खासगरी यो क्षेत्र पर्यटकको लागि हिउँ पर्ने सिजन र गुराँस फुल्ने सिजन आकर्षक बन्दै आएको छ।
फोटो : छिरिङ लामा