रियाद- साउदी नेतृत्वको गठबन्धन सेनाले यमनको राजधानी सानामा बुधबार रातिदेखि हवाई हमला गरेको गरेको छ। हुथी मिलिसियाहरुविरुद्ध साउदी सेनाले युद्धक विमान प्रयोग गरी हवाई आक्रमण गरेको अन्तर्राष्ट्रिय समाचार संस्था सिन्ह्वाले जानकारी दिएको छ।
साउदी सेनाले हुथी विद्रोहीहरुले निर्माण गरेका आश्रयस्थलका साथै उनीहरुद्वारा नियन्त्रित सैन्य शिविरमा हवाई आक्रमण गरेको हुथीद्वारा सञ्चालित अल–मासिराह टिभीले जनाएको छ।
युद्धक विमानहरुले गरेका सो आक्रमणको आवाज नै सुनिएको पनि बताइएको छ। यस हवाई आक्रमणबाट यमनी सहर सानाको पूर्वी क्षेत्रमा रहेको हाफा शिविर प्रभावित भएको बताइएको छ। यस हमलाबाट भएको क्षतिको विस्तृत विवरण भने दिइएको छैन। हवाई आक्रमणपछि शहरभर शक्तिशाली विस्फोटको आवाज सुनिएको बताइएको छ।
सो हमलामा परेर यहाँका हुथी मिलिसियाहरुले निर्माण गरेका केही आश्रयस्थल र सैन्य शिविर ध्वस्त भएका छन्। उनीहरुको पकड रहेको भनिएका केही क्षेत्रमा यी सेनाको आक्रमण विगतदेखि नै जारी रहेको थियो। इरान समर्थित हुथी मिलिसियाले पनि गतहप्ता यहाँ आक्रमण गरेका र सो ड्रोन आक्रमणबाट दुईवटा गुफा र चारवटा भूमिगत गोदाम ध्वस्त भएको गठबन्धन सेनाले जनाएको थियो।
केही महिनामात्र अघि यमनी विद्रोही समूहले मध्य यमनको अत्यधिक तेल रहेको प्रान्त मारिब कब्जा गर्न साउदी समर्थित सरकारी सेनाविरुद्ध ठूलो आक्रमण सुरु गरेको थियो। -सिन्ह्वा