धनगढी- कञ्चनपुरको कृष्णपुर नगरपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ। वडा नम्बर ६ को कार्यालय अपायक ठाउँमा निर्माण गर्न थालिएको भन्दै तालाबन्दी गरिएको हो।
वडा नम्बर ६ अन्तर्गत सबै वडा बासीलाई पाएक पर्ने गौरादेवी सामुदायिक वन, माताकुटी र बलुवाफाँटामध्ये एक ठाउँमा वडा कार्यालय निर्माण गर्नुपर्ने सहमति भए पनि सहमति लत्याउँदै वसन्तपुरस्थित प्राकृतिक तालमा वडा कार्यालयको भवन निर्माण गर्न थालिएको भन्दै तालाबन्दी गरिएको महेन्द्र रोकायाले बताए।
‘वडा कार्यालय सबैको पाएक पर्ने ठाउँमा निर्माण गर्नुपर्ने भन्दै हामीले पटकपटक ज्ञापन पत्र बुझायौं, ध्यानाकर्षण गरायौं, सुझाव दियौं’ महेन्द्र रोकायाले भने, ‘तर, जनप्रतिनिधिले दम्भ देखाइ वडा वासीलाई अपाएक पर्ने एक टोललाई दृष्टिगत गरेर निर्माण थालियो।’
उनले जनभावनको कदर नगरी एकलौटी ढंगले थालिएको वडा कार्यालयको भवन निर्माणकार्य रद्ध गरेर आम जनभावना बुझि सबैलाई पाएक पर्ने ठाउँमा भवन निर्माण कार्य थालनी नगरेसम्म तालाबन्दी जारी रहने बताए।