शुक्रबार, असोज ३०, २०८३

'किताब जात्रा'लाई रेल सेवा उपलब्ध गराउने भारतीय मन्त्रीको घोषणा

भारतका पर्यटनमन्त्री जी किसन रेड्डीले किताब जात्रालाई भारतमा रेल सेवा उपलब्ध गराउने घोषणा गरेका छन्। पठन संस्कृति प्रवर्द्धनका लागि अभियान चलाउँदै आएको 'किताब जात्रा'को पहिलो अन्तर्राष्ट्रिय संस्करण उद्घाटन कार्यक्रममा भारतीय मन्त्री रेड्डीले यस्तो बताएका हुन्।
 |  बिहीबार, पुस ८, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ८, २०७८

नयाँ दिल्ली- भारतका पर्यटनमन्त्री जी किसन रेड्डीले किताब जात्रालाई भारतमा रेल सेवा उपलब्ध गराउने घोषणा गरेका छन्। पठन संस्कृति प्रवर्द्धनका लागि अभियान चलाउँदै आएको 'किताब जात्रा'को पहिलो अन्तर्राष्ट्रिय संस्करण उद्घाटन कार्यक्रममा भारतीय मन्त्री रेड्डीले यस्तो बताएका हुन्। 

नयाँदिल्लीको इन्डिया ह्याबिटेट सेन्टर, लोधीरोडमा किताब जात्राको उक्त संस्करणलाई बिहीबार नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र भारतीय पर्यटमन्त्री रेड्डीले संयुक्त रूपमा उद्घाटन गरेका थिए। 

भारतीय मन्त्री रेड्डीले विश्वका युवालाई जोड्न किताब जात्राले सुरू गरेको विश्व यात्रालाई थप आयाम दिन भारतमा 'किताब जात्रा रेल सर्किट' निर्माणको प्रस्ताव गरेका थिए। 'विश्वयात्राको क्रममा तपाईंहरू बारम्बार भारत आउनुहोस्। किताब जात्रा रेल सर्किट निर्माण गरेर कार्यक्रम गर्नुहोस्। त्यसको लागि जति अवधिका लागि रेल चाहिन्छ, हामी उपलब्ध गराउछौँ।'

उद्धघाटन कार्यक्रममा बोल्दै नेपालका मन्त्री आलेले किताब जात्राले आफ्नो अन्तर्राष्ट्रिय संस्करण भारतबाटै सुरु हुनु संयोग मात्रै नभएर नेपाल-भारत सम्बन्धको ऐतिहासिक निरन्तरताको कडीसमेत भएको बताएका थिए। 'नेपाल-भारत सम्बन्ध राजनीतिक-कुटनीतिकमात्रै नभएर जन-जनको सम्बन्ध हो। त्यसैले हाम्रो संस्कृति, कला र साहित्यबीच गहिरो सम्बन्ध छ,' उनले भने, 'नेपालको आर्थिक विकासमा प्रभाव पार्ने पर्यटनका साथै धार्मिक सम्बन्ध पनि उतिकै बलियो छ। यस्ता अनेकौँ आयामका सम्बन्धलाई किताब जात्राले अझै विस्तार गरेको छ।'

उता मन्त्री रेड्डीले गौतम बुद्धको जन्मस्थान नेपाल भएको सन्दर्भ उल्लेख गर्दै बुद्धले ज्ञान प्राप्त गरेको भूमि भएको कारण पनि भारतले नेपाललाई ज्ञानको मूलको रूपमा लिएको बताए। 'भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको धेरै भ्रमण गर्ने भारतीय प्रधानमन्त्री हुनुहुन्छ। उहाँको नेपालप्रति निकै लगाव छ,' उनले थपे 'त्यो यसकारण पनि हो कि उहाँ आफैंले ज्ञान प्राप्त गर्न पशुपति, कालीगण्डकी र मुक्तिनाथ मन्दिरआसपास चार वर्ष बिताउनुभएको थियो। नेपाल भ्रमणका क्रममा पशुपति, मुक्तिनाथ र जानकी मन्दिर दर्शन गर्न छुटाउनुहुन्न।'

विगत चार वर्षदेखि हरेक वर्ष नेपालमा किताब जात्रा गरिरहेको ‘किताब यात्रा फाउन्डेसन’ले आयोजना गरेको पहिलो अन्तर्राष्ट्रिय किताब जात्रा दिल्लीमा बिहीबार दिनभर चल्नेछ।

‘सांस्कृतिक जनसम्बन्ध प्रगाढ रहेको छिमेकी मुलुक भारतबाट किताब जात्राको अन्तर्राष्ट्रिय संस्करण सुरुवात गर्न पाउँदा खुसी लागेको छ’, लामो समयदेखि सञ्चारकर्ममा समेत सक्रिय किताब जात्रा नयाँ दिल्ली संस्करणकी संयोजक आशा थपलियाले भनिन्, 'किताब र पठनलाई केन्द्रमा राखेर गरिने जात्राले दुई देशको सम्बन्धलाई अनेकौं आयामबाट बलियो बनाउने विश्वास भारतका किताबप्रेमीले व्यक्त गरेका छन्।'

उनका अनुसार स्थानीय समयअनुसार बिहान साढे दस बजे सुरू भएको जात्रामा पाँच सेसनमा बहस हुनेछ भने अन्य साहित्यिक-सांस्कृतिक कार्यक्रम रहनेछ। 

'नेपाल भारत सम्बन्ध' शीर्षकमा भारतमा रहेको नेपाली राजदूतावासका कार्यवाहक राजदूत रामप्रसाद सुवेदी र एपीवान एचडी टेलिभिजनका प्रधानसम्पादक टीकाराम यात्रीले बहस गर्नेछन्। 

भारतीय स्तम्भकार तथा लेखक अतुल के. ठाकुर, नेपालका लागि भारतका पूर्वराजदूत केभी राजन, पेङ्गुइन र्‍यान्डम हाउसका वाणिज्य तथा गैरआख्यान सम्पादक मनिष खुराना, एनडीटीभीकी विदेश मामिला वरिष्ठ सम्पादक कादम्बिनी शर्मा र नेपालका वरिष्ठ फोटो पत्रकार विकास रौनियारबीच 'ब्लोजोमिङ लिटरेरी सिन इन नेपाल एन्ड इन्डियन पब्लिसिङ मार्केट' शीर्षकमा बहस हुनेछ। 

त्यस्तै, 'नेपालको आर्थिक परिदृश्य- रेमिटेन्स, प्रत्यक्ष वैदेशिक लगानी एवं नेपाल भारत व्यापार' शीर्षकमा आइएईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र रियान्डा बिज सर्भका अध्यक्ष भरत रिजालले बहस गर्नेछन्। जसको सहजीकरण एपीवान एचडी टिभीका सह-सम्पादक समा थापाले गर्नेछिन्। 

भारतीय पठन परिदृष्यमा नेपाली साहित्यबारे कलाकार तथा लेखक हरिवंश आचार्य, आख्यानकार अमर न्यौपाने र कवि नवराज पराजुलीले टीकाराम यात्रीका साथमा बहस गर्नेछन्। 

'टेकिङ नेपाल टू दी वर्ल्ड' शीर्षकमा सिजी कर्प ग्लोबलका मेनेजिङ डाइरेक्टर वरुण चौधरी र टीकाराम यात्रीबीच विमर्श हुनेछ।

त्यसपछिको सेसनमा कवि नवराज पराजुली, अमर न्यौपाने, सुनील तिमल्सिनाका साथमा भारतीय कविहरूको काव्यिक प्रस्तुति हुनेछ। 

किताब जात्राको अन्तर्राष्ट्रिय संस्करणको सन्दर्भमा किताब यात्रा फाउन्डेसनले यसै वर्षदेखि 'किताब यात्रा अनर अवार्ड' प्रदान गर्नेछ। उक्त अवार्ड यस वर्ष कलाकार तथा लेखक हरिवंश आचार्यलाई प्रदान गरिने निर्णय भएको फाउन्डेसनका अध्यक्ष ऋषिराम अधिकारीले जानकारी दिए। 

जनजीवनको अभिन्न अंग पठन संस्कृति बन्नुपर्छ भन्ने ध्येय स्थापित गर्न फाउन्डेसनले आयोजना गर्ने गरेको ‘किताब जात्रा’मा समाजका विभिन्न क्षेत्रका व्यक्तित्वबीच अन्तरक्रिया गरिने जात्रामा साहित्य, सिनेमा, संगीत, अर्थ, उद्यमलगायतका क्षेत्रका व्यक्तित्वहरू समावेश गरी बहस चलाउने गरिन्छ। 

जात्राका क्रममा हरेक नागरिकले सहज रूपमा किताब पढ्ने अवस्था सिर्जना होस् भन्ने ध्येयका साथ अनलाइन बुकसेलिङ प्ल्याटफर्म ‘किताब यात्रा डटकम’ले कार्यक्रम स्थलमा नेपाली र अन्य भाषाका किताब उपलब्ध हुने स्टल पनि राखेको छ। किताबका लेखकहरू समेत संलग्न भएर विमर्श चलाइने किताब जात्रामा किताब किन्न सकिने सुविधासमेत होस् भनेर स्टल राखिएको किताब यात्रा प्रा.लि.का सिइओ विकेश भट्टराईले बताए। उनका अनुसार विश्वका कुनै पनि देशबाट किताब यात्राको अनलाइनमार्फत किताब मगाउन सकिनेछ। 

प्रकाशित: Dec 23, 2021| 16:31 बिहीबार, पुस ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।