काठमाडौं– अन्तर्राष्ट्रिय अपराधी चार्ल्स शोभराज बन्दी प्रत्यक्षीकरणको निवेदन लिएर बिहीबार सर्वोच्च अदालत पुगेका छन्। केन्द्रीय कारागारमा कैद भुक्तान गरिरहेका शोभराज आफ्नो रिहाइको माग गर्दै सर्वोच्च पुगेका हुन्।
शोभराजका तर्फबाट हिजो बुधबार बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दायर भएको थियो। उनको रिटमा आजका लागि पेसी तोकिएको छ। न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा पहिलो नम्बरमा शोभराजको मुद्दाको पेसी चढेको छ।
आफू रिहा हुनुपर्ने दाबी गर्दै शोभराजले यसअघि पनि पटक पटक सर्वोच्चमा रिट दायर गरेका थिए। आफू ज्येष्ठ नागरिक भएको र कैद भुक्तान पनि गरिसकेकोले रिहा हुनुपर्ने जिकिर उनको छ।
पछिल्लोपटक उनले गत असोज १८ गते सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका थिए। न्यायाधीश मीरा खड्काको एकल इजलासले कैफियत प्रतिवेदन माग गर्ने आदेश दिएको थियो। लगत्तै देशभरका अदालत बडादसैंका कारण बिदा भएपछि सुनुवाइ रोकिएको थियो।
नेपालमा विदेशी पर्यटकको हत्या गरेको अभियोग प्रमाणित भएपछि शोभराज जेलमा छन्। २०३२ पुस ६ गते क्यानेडियन नागरिक लोरेन्ट क्यारियरको हत्या गरेर भक्तपुरको मनोहरा खोलामा फालेको अनुसन्धानबाट प्रमाणित भएको थियो।