विराटनगर‒ नेपाली कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बु त्रिभुवन विश्वविद्यालयको ४७औं दीक्षान्त समारोहबाट दीक्षित भएका छन्। उनले राजनीतिशास्त्रबाट स्नातकोत्तर गरेका छन्।
संविधानसभाको दोस्रो निर्वाचनमा मोरङ ९ बाट निर्वाचित भएपछि उनले उच्च शिक्षा अध्ययन सुरु गरेका थिए। २०३९ सालमा लेटाङको शान्ति भगवती माविबाट विद्यालय शिक्षा पुरागरेपछि अध्ययनलाई उनले अगाडी बढाउन सकेका थिएनन्।
उर्लाबारी, धरान र विराटनगरमा उच्च शिक्षा अघि बढाउन खोजे पनि नसकेपछि एसएलसी उत्तीर्ण गरेको शान्ति भागवतिमै उनले अध्यापन सुरु गरेका थिए। २०४० सालामा अध्यापन सुरु गरेका उनी २०४८ मा स्थायी पनि भए। तर, स्थायी जागिर छाडेर उनी राजनीतिमा होमिएका थिए।
संविधानसभा सदस्यमा निर्वाचित भएपछि उनले काठमाडौं कलंकीको रिचमण्ड एकेडेमीमा भर्ना भए। लिम्बुले छोरा मञ्जिलसँगै उच्च शिक्षाको अध्ययनलाई अघि बढाए। कक्षा १२ मा लिम्बु उत्तीर्ण भए। तर, छोरा उत्तीर्ण हुन सकेनन्। २०६९ मा कक्षा १२ सकेका उनले २०७४ मा स्नातक पुरा गरेका थिए। स्नातकोत्तर तह पुरा गरेका उनले विद्यावारिधि सम्म गर्ने सोच बनाएका छन्। पढ्नका लागि उमेर नछेक्ने उनले बताए।
संविधानसभा सदस्य भएपछि सडक र सदनमा जसले पनि शैक्षिक योग्यता कति भनेर हैरान पारेपछि अध्ययनमा आफ्नो रुचि गएको उनले सुनाए। उनी भन्छन्,‘ जहाँ गयो पढाई मात्रै सोधे पनि ढाँट्न सकिन।’ कोरोनाको पहिलो लहरको समयलाई सदुपयोग गर्दै शोधपत्र तयार गरेको उनले बताए। उनले समावेशी प्रतिनिधित्व र संघीयता प्रवर्द्धनमा पहिचानको राजनीतिक भूमिका विषयमा शोधपत्र तयार गरेको बताएका छन्। प्रदेश १ का विभिन्न जिल्लाको भ्रमणगरि शोधपत्र तयार गरेको लिम्बुले बताए।
५८ वर्षीय लिम्बुले त्रिभुवन विश्वविद्यालयको ४७औं दीक्षान्त समारोह आफ्नो जीवनको अविस्मरणीय क्षण भएको बताए। लिम्बु नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत भएको जिल्ला अधिवेशनमा दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित भएका थिए।