काठमाडौं- नेकपा माओवादी केन्द्र प्रदेश १ कमिटीको अध्यक्षमा हर्कबहादुर नेम्वाङ (मिक्सो) निर्वाचित भएका छन्।
अध्यक्षमा १६९ मत प्राप्त गर्दै नेम्वाङ विजयी भएका हुन्। अर्का प्रत्याशी मुक्साहाङ मेन्याङ्बो ६४ मतका मात्रै ल्याउन सफल भए। अध्यक्षको मत गणनामा सात मत बदर भएको थियो।
तीनजना उपाध्यक्षमा मणिकुमार साम्पाङ (१११ ), देवान चाम्लिङ (१२०) र शिवकुमार डाँगी (११३) मतका साथ विजयी भएका छन्। सचिवमा गणेश उप्रेती (सुशील) १४८ मत प्राप्त गर्दै जित हात पार्दा उनका उनका प्रतिद्वन्द्वी सिपी कडरियाले ८३ मत ल्याएका छन्।
तीन सहसचिवमा कुमारी राई (११४), सागर किराँती (७३) र ऋषिराम ढुंगाना (९५) मतका साथ विजयी भएका छन्। कोषाध्यक्षमा रेवतराज पुरी (गगन) ९३ मतका साथ विजयी भए। उनकी प्रतिद्वन्द्वी बन्दना झाँगडले ५७ मत प्राप्त गरेकी छन्।
नौ जना पदाधिकारीका लागि भएको निर्वाचन प्रक्रियामा २४० जनाले मतदान गरेका थिए भने २९ जनाको उमेदवारी परेको निर्वाचन समितिले जनाएको छ।
मंसिर २५ र २६ गते भएको प्रदेश अधिवेशनले २५९ जनाको कार्यसमिति सर्वसम्मतिले निर्वाचित गरेको नेकपा माओवादी केन्द्रले पदाधिकारी भने सहमतिमा छान्न सकेको थिएन। पटक‒पटक भएको छलफलमा पदाधिकारीमा सहमति नजुटेपछि बुधबार राती मतदान भएको हो। नेम्वाङ अर्थमन्त्री जर्नादन शर्माका स्वकीय सचिवसमेत हुन्।