काठमाडौं- रोल्पामा तीन जनामाथि रड प्रहार भएको छ। रुन्टीगढी गाउँपालिकाको होलेरी बजारस्थित होलेरी गेष्ट हाउसमा एक जनाले तीन जना साथीमाथि रड प्रहार गरेर गम्भी घाइते बनाएका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेका अनुसार रड प्रहारबाट रुन्टीगढी गाउँपालिका-७ का ४२ वर्षीय भीमबहादुर थापा, ३९ वर्षीय सरोज पुन र रुकुम पश्चिमको सानी भेरी गाउँपालिका-४ घर भई नेपालगन्ज बस्ने ४३ वर्षीय मैतबहादुर बिक गम्भीर घाइते हुन्।
उनीहरूमाथि रुन्टीगढी-९ का ४६ वर्षीय टेकबहादुर वलीले सुतेको समयमा रड प्रहार गरेको प्रहरीले जनाएको छ। मंगलबार राति गेष्ट हाउसमा चारै जना बास बसेका थिए। उनीहरू सबै एउटै कोठामा सुतेका थिए। राति सबै जना सुतिसकेपछि वलीले एकाएक तीनै जना साथीहरूमाथि रड प्रहार गरेको प्रहरीले जनाएको छ।
घाइतेमध्ये थापा र बिकको बाँकेको कोहलपुरमा र पुनको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक घिमिरेले बताए। उनले तीनै जनाको अवस्था गम्भीर रहेको बताएका छन्।
घटनापछि फरार रहेका वलीलाई प्रहरीले बुधबार रुन्टीगढी-५ हातखोलाबाट नियन्त्रणमा लिएको छ। घटनाको कारण भने पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ।