काठमाडौं– नेपाली कांग्रेसको १४औं महाधिवेशन केही आशा, केही सन्देश र नेताहरुका लागि म्यान्डेट दिएर सकिएको छ। आशा यस अर्थमा कि कांग्रेसको नेतृत्व तहमा युवा र परीक्षण नभएका नेता पुग्न सफल भए। भलै पार्टीको नेतृत्व दोस्रोपल्ट शेरबहादुर देउवाको हातमा पुगेको किन नहोस्। तर, उपसभापति, महामन्त्री, सहमहामन्त्रीदेखि केन्द्रीय सदस्यसम्मको सूची हेर्ने हो भने नयाँ पुस्ताको जबरजस्त उदय भएको छ।
कांग्रेस महाधिवेशनले पुस्तान्तरण, रुपान्तरण र जागरणको सन्देश दिएको धरैको बुझाइ छ। महाधिवेशनले दिएको सन्देशलाई कांग्रेसले कति गम्भीरतापूर्वक लिन्छ, त्यो हेर्न बाँकी छ। महाधिवेशनले नेतृत्वलाई दिएको सन्देशसहितको म्यान्डेट कार्यान्वयन हुन्छ वा हुँदैन, त्यो पनि भविष्यले देखाउनेछ। तर, कांग्रेस हाँक्ने टिम हेर्दा पार्टी सञ्चालनको तौरतरिकामा केही नयाँपन देखिने आशा सञ्चार गरेको छ।
साथै कांग्रेसको १४औं महाधिवेशनले केही नेताहरुको चरित्र उदांगो बनाइदिएको छ। अर्थात् नेपाली राजनीतिमा एउटा अर्को विसंगति दोहोरिएको छ जिम्मेवार भनिएका नेताहरूमार्फत। नेताहरुको त्यस्तै चरित्र चित्रणका हिसाबले महाधिवेशन कांग्रेसका कार्यकर्ताका लागि सम्झनलायक बन्यो। एउटै मुद्दा, एउटै एजेन्डा र नारा लिएर एकै गल्लीमा हिँडेका नेताहरु निर्णायक क्षणमा कसरी आफ्नै बोली, अडान र इमान कुल्चन सक्छन् त्यसको चित्र महाधिवेशनले छर्लंग पारिदिएको छ।
त्यसो त स्वार्थ मिल्दा एक ठाउँमा हुने र नमिल्दा परस्पर विरोधी हुने चरित्र नेपाली राजनीतिका लागि नयाँ होइन। तर, परिवर्तनका पक्षधर आफैं कसरी परिवर्तन हुन्छन्? र त्यसको प्रभाव के रहन्छ भनेर बुझ्न पनि कांग्रेसको महाधिवेशन पर्याप्त छ। त्यसैले त महामन्त्रीमा पराजित मिनेन्द्र रिजालले भनेका छन्, ‘तातोमा सुन र पित्तल छुट्टिन्छ।’
सभापतिमा पराजित भइसकेपछि मतदातालाई धन्यवाद दिन शेखर कोइराला समूहले आयोजना गरेको कार्यक्रममा रिजालले नेतृत्व परिवर्तनको एजेन्डा मुखरित गर्दै आएका तर एजेन्डा छाडेर आफैं परिवर्तन भएका नेताहरुप्रति लक्षित गरेर यस्तो अभिव्यक्ति दिएका थिए। एकै समूहमा रहेर पनि आफू उम्मेदवार नहुने स्थितिमा स्वतन्त्र रहने घोषणा गरेर मौन बसेका नेताहरुप्रति पनि उनले प्रहार गर्न खोजेकै थिए। उनले भनेका थिए, ‘अप्ठ्यारो, कठिनाइ र दुःखमा मानिसको चरित्र पहिचान हुन्छ।’
‘नेतृत्व परिवर्तनको एकमात्रै एजेन्डा बनाएर प्रतिस्पर्धा गर्नुभएका र प्रतिस्पर्धाबाट बाहिर रहनुभएका नेताहरुले एकाएक किन परिवर्तन हुनुभयो। यसको जवाफ मसँग छैन।’
पहिलो चरणमा सभापतिको प्रतिस्पर्धामा रहेका र दोस्रो चरणमा देउवालाई सघाएका प्रकाशमान सिंह, विमलेन्द्र निधिका हकमा त रिजालको यो भनाइ लागू हुने नै भयो। सँगै सभापतिमा प्रतिस्पर्धा गर्न नपाएपछि नेतृत्व चयनको प्रक्रियाबाट अलग रहने भन्दै बाहोराटार निवासबाट निराशा पोखिरहेका रामचन्द्र पौडेल र कसैका पक्षमा नखुल्ने दाबी गरेका डा. शशांक कोइरालाका हकमा पनि रिजालको अभिव्यक्ति सान्दर्भिक देखियो।
पहिलो चरणमा कसैको ५१ प्रतिशत नपुग्ने र दोस्रो चरणमा दोस्रो हुनेलाई सहयोग गर्ने बाचा गरेका नेताहरु नेतृत्व परिवर्तनको एजेन्डा छोडेर पुरानै नेतृत्वलाई समर्थन गर्ने स्थिति किन देखा पर्यो त? यसको जवाफ नवनिर्वाचित महामन्त्री गगनकुमार थापासँग समेत छैन। उनले भनेका छन्, ‘नेतृत्व परिवर्तनको एकमात्रै एजेन्डा बनाएर प्रतिस्पर्धा गर्नुभएका र प्रतिस्पर्धाबाट बाहिर रहनुभएका नेताहरुले एकाएक किन परिवर्तन हुनुभयो। यसको जवाफ मसँग छैन।’
शेखर समूहले भने यसको उत्तर खोजिरहेको छ। मतदानको अघिल्लो दिन निधिले सार्वजनिक रूपमै पहिलो चरणमा कसैको जित सुनिश्चित नभएको, दोस्रो चरणमा दोस्रो हुनेलाई सहयोग गर्ने र नेतृत्व परिवर्तन गरिछाड्ने अभिव्यक्ति दिएका थिए।
संस्थापन इतर समूहको छलफलका क्रममा सिंहको बाचा पनि उस्तै थियो। ‘विचार समूहको बैठकमा पहिलो चरणमा प्रतिस्पर्धा गरौं, दोस्रो चरणमा दोस्रो हुनेलाई सहयोग गरौं भन्ने थियो। तर, दोस्रो चरणमा किन यस्तो भयो यसको जवाफ मसँग छैन। नेतृत्व परिवर्तनको एजेन्डा उहाँहरुको होइन रहेछ भन्ने चाहिँ प्रस्ट भयोऽ,’ गगन भन्छन्।
रामचन्द्र पौडेलले भूमिका खेलिदिएको भए दोस्रो चरणको निर्वाचन परिणाम फरक हुन सक्ने विश्लेषण शेखर समूहले गर्दै आएको छ। ‘पहिलो चरणमा रामचन्द्र दाइले मतदान गर्नुभएन। तर, दोस्रो चरणमा गइसकेपछि नेतृत्व परिवर्तन उहाँको पनि एजेन्डा थियो। उहाँले नै विमल दाइ, प्रकाश दाइलाई दोस्रो चरणमा शेखरलाई मत हालौं भने आह्वान गर्नुपर्थ्याे,’ थापा भन्छन्, ‘तर, उहाँले भन्नुभएन। उहाँ खुलेको भए प्रकाश दाइ र विमल दाइमाथि प्रेसर पर्थ्याे र अवस्था फरक बन्थ्यो।’
सिंह, निधि र ब्वाँसोको कथा
रामचन्द्र र शशांकलाई छाड्ने हो भने पहिलो चरणमा प्रतिस्पर्धा गरेका सिंह, निधि र कल्याण गुरुङ ‘भोकाएको ब्वाँसोे’ झैं देखिए। यसलाई बुझ्न भोकाएको बाँसोको कथा थाहा पाउनुपर्ने हुन्छ। भएको के रहेछ भने एक दिन बिहानै एउटा ब्याँसोलाई भोक लाग्यो। भोक पनि यस्तो लाग्यो कि उसलाई तुरुन्तै र ठूलो सिकार आवश्यक पर्यो। तर, उसका अघि केही थिएन। सुतिरहेको ठाउँबाट उठ्यो। बिहानको झुल्के घाममा आफ्नै छाया तन्किएको देखेपछि ब्याँसोले अठोट गर्यो- अब यसैलाई सिकार बनाउँछु। ऊ छायाको सिकार गर्न खुब दौडियो। जब मध्याह्न भयो छायाको आकार सानो बन्न पुग्यो। भोकले खप्ने सक्ने शक्ति गुमेपछि ठूलो भाग खोज्न छाडेर त्यही सानो सिकारमै चित्त बुझाउने निर्णयमा पुगेको ब्वाँसोले अन्ततः बुझ्यो- यो त आफ्नै छाया रहेछ।
सिंह र निधि देउवाबाट नेतृत्व खोस्न चाहन्थे। तर न उनीहरु नेतृत्व खोस्न सफल बने न त खोसाउन सहयोग गरे। बरु आफ्ना एजेन्डा बिर्सिएर पुरानै नेतृत्व दोहोर्याउने अवस्थामा पुगे। देउवालाई सघाउँदा तुरुन्तै प्रतिफल पाइने तर शेखरलाई सघाउँदा उधारो सम्झौता गर्नुपर्ने मनोविज्ञानबाट सिंह र निधिको निर्णय आएको देखिन्छ।
‘शेखरले पहिलो चरणमा देउवालाई रोकेकै हो। दोस्रो चरणमा मत तानतुन गरे देउवाले जितेका हुन्,’ आचार्य भन्छन्, ‘त्यो भनेको लेनदेन हो। एकप्रकारले भन्ने हो भने किनिएकै हो।
राजनीतिक विश्लेषक पुरञ्जन आचार्यको शब्दमा भन्ने हाे भने दोस्रो चरणमा देउवा जसरी निर्वाचित भए, त्यो लेनदेनको प्रतिफल हो। ‘शेखरले पहिलो चरणमा देउवालाई रोकेकै हो। दोस्रो चरणमा मत तानतुन गरे देउवाले जितेका हुन्,’ आचार्य भन्छन्, ‘त्यो भनेको लेनदेन हो। एकप्रकारले भन्ने हो भने किनिएकै हो। बेचिन नचाहेकाहरु १५३ जनाले दोस्रो चरणमा शेखरलाई मत दिएका हुन्।’
विरासतको राजनीतिको अवसान
कांग्रेसमा विरासतको राजनीतिको ठूलो अर्थ छ। विरासतको राजनीतिबाट उदाएका नेताहरु यसपटक भने कर्नरमा परेका छन्। बीपी कोइरालाको विरासतका आधारमा राजनीति गर्दै आएका निवर्तमान महामन्त्री डा. शशांक कोइराला सभापतिको रेसबाट बाहिरै बसे। केन्द्रीय सदस्यमा लोकप्रिय मत प्राप्त गरेका कोइराला १५औं महाधिवेशनमा सभापतिको उम्मेदवार हुने सम्भावना जीवितै छ। तर, महामन्त्रीको जिम्मेवारीमा देखिएको सुस्त कार्यशैली कायमै रहे उनीबाट कांग्रेस अघि नबढ्ने निष्कर्ष आमकार्यकर्ताले निकाल्ने नै छन्।
गिरिजाप्रसाद कोइराला पुत्री सुजाता कोइराला यसपटक सिंहको प्यानलबाट उपसभापति लडेकी थिइन्। तर, उनी पराजित हुन पुगिन्। शशांक र सुजाताले दाजु शेखरलाई साथ दिएनन्। सुजाता फरक प्यानलको उम्मेदवार बनिन्, शशांकले दाजुका लागि खुलेर सहयोग गरेनन्। बरु देउवासँग हात मिलाउन बालुवाटार पुगे। यसको अर्थ शशांकले शेखरको जित नचाहेको प्रस्ट हुन्छ। सभापतिमा पराजित भएपछि शेखरले भाइ र बहिनीको साथ नपाएकाे महसुस गरेका छन्। उनले भनेका छन्, ‘बीपीले मेरो बुबालाई लेखेको चिठी मार्मिक छ। मेरो बुबा पनि क्यान्सरबाट पीडित हुनुहुन्थ्यो। सायद भाइबहिनी (शशांक र सुजाता) ले त्यो चिठीको मर्म बुझेनन् भन्ने मलाई लाग्छ।’
अब पारिवारिक विरासतको राजनीति सकियो। तीन नेता पुत्र भनेर बैठक बस्थ्यो। शेखर कोइरालालाई कहिलै बोलाइएन। अहिले शेखरसँग न भाइ उभिनुभयो, न बहिनी उभिनुभयो,’
बीपीले शेखरका पिता केशवलाई चिठी लेख्दै भनेका थिए, ‘हाम्रो सेखपछि छोराहरुले एकदम एकता राखेर पिताजीको कीर्तिलाई कायम राख्नेछन्।’ तर, १४औं महाधिवेशनमा शशांक र सुजाता शेखरको साथमा देखिएनन्।
कोइराला परिवारबाहेक गणेशमान सिंहको विरासत बोकेका प्रकाशमान पहिलो चरणमै सभापतिको प्रतिस्पर्धाबाट रिङआउट भए। महेन्द्र नारायण निधिको बिरासत बोकका विमलेन्द्रले पनि प्रकाशमानकै नियति व्यहोर्नुपर्यो। यसको संकेत अब कांग्रेसमा विरासतको राजनीतिको अन्त्य हो।
महामन्त्री थापा पनि कांग्रेसमा पारिवारिक विरासतको राजनीति सकिएको दाबी गर्छन्। ‘अब पारिवारिक विरासतको राजनीति सकियो। तीन नेता पुत्र भनेर बैठक बस्थ्यो। शेखर कोइरालालाई कहिलै बोलाइएन। अहिले शेखरसँग न भाइ उभिनुभयो, न बहिनी उभिनुभयो,’ उनी भन्छन्, ‘शेखरका बाबुलाई धेरै कांग्रेस कार्यकर्ताले चिन्दैनन्। यो महाधिवेशनका तथ्यहरुले शेखर कोइराला परिवारसँग जोडिर मत पाएको होइन भन्ने पुष्टि गरेको छ।’