विराटनगर‒ प्रदेश १ को पाँच दलीय गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रम तयार गरेको छ। न्यूनतम कार्यक्रम तयारी समितिका संयोजक शेखरचन्द्र थापा नेतृत्वको टोलीले कार्यक्रमको मस्यौदा मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई बुझाएको हो।
कार्यदलका तर्फबाट मस्यौदा ग्रहण गर्दै मुख्यमन्त्री राईले सरकारको न्यूनतम साझा कार्यक्रम पुस ९ गते शुक्रबार सार्वजनिक गर्ने तयारी रहेको जानकारी दिए। अघिल्लो सरकारले ल्याएको बजेटसमेत पुनरावलोकन गर्ने सरकारको तयारी रहेको उनले जानकारी दिए। बजेटलाई पुनरावलोकन गरी श्रोत सुनिश्चित भएका योजना‒परियोजनालाई प्राथमिकता दिने मुख्यमन्त्री राईले बताए।
सरकारको न्यूनतम साझा कार्यक्रम तयारी समितिमा प्रदेश सांसद थापा, राजन राई, धीरेन्द्र शर्मा, रामचन्द्र लिम्बू र अशोक चेम्जोङ्ग सदस्य रहेका थिए। संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चले कार्यदलमा पार्टी प्रतिनिधि पठाएको थियो। समितिको सदस्य सचिवमा प्रदेश योजना आयोगका पूर्वसदस्य डा. पूर्ण लोक्सोम छन्।
प्रदेश १ मा सत्ता गठबन्धनका दल र सरकारबीच समन्वय गर्न कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाको संयोजकत्वमा राजनीतिक संयन्त्र गठन गरेको छ।