काठमाडौ– बालुवाटारस्थित ललिता निवास जग्गा किनबेच प्रकरणमा प्रहरीले एक दम्पतीलाई पक्राउ गरेको छ। नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले रामकुमार सुवेदी र उनकी श्रीमती माधवी सुवेदीलाई मंगलबार बेलुका नियन्त्रणमा लिएको हो।
ब्युरोका अनुसार सुवेदीलाई उनको घरबाटै र उनकी श्रीमतीलाई बागबजारबाट नियन्त्रणमा लिइएको हो। सरकारी जग्गा आफ्नो नाममा दर्ता गरेको प्रकरणमा अनुसन्धानका लागि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो।
ललिता निवास जग्गा किनबेच प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई वर्षअघि विशेष अदालतमा १ सय १० जना विरुद्ध मुद्दा दायर गरेको थियो। मुद्दा दायर हुँदा सुवेदी दम्पती फरार थिए। उनीहरुलाई अदालतमा उपस्थित गराएर थप अनुसन्धानका लागि म्याद थप भइरहेको सीआईबीले जनाएको छ।