धनगढी- कैलालीको जानकी गाउँपालिका वडा नम्बर ९ का अर्जुन दासका परिवारलाई खाद्यान्न सहयोग गरिको छ।
स्थानीय सामुदायिक वन क्षेत्रमा रुखमा बाँधेर टाउको काटिएको अवस्थामा शव फेला परेका २५ वर्षीय दासका परिवारलाई खाद्यान्न सहयोग गरीएको हो। नेपाली कांग्रेस जानकी गाउँपालिका कार्य समिति र जिल्ला कार्य समितिको समन्वयमा क्षेत्र नम्बर २ कार्य समितीले दासका परिवारलाई चार कट्टा चामल, पाँच पोका तेल, पाँच पोका नुन र पाँच किलो दाल सहयोग गरेको हो।
नेपाली कांग्रेस कैलाली जिल्ला कार्य सम्पादन समितिका सदस्य तथा प्रचारप्रसार समितिका संयोजक नृपबहादुर सुनार, क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति बिष्णु ढकाल र जानकी गाउँपालिका सभापति गणेश रेग्मीसहितको नेताहरुको टोलीले दासका परिवारलाई खाद्यान्न सामाग्री हस्तान्तरण गरेका हुन्।
खाद्य सामाग्री हस्तान्तरण गर्दै नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर २ का सभापति बिष्णु ढकालसहितको टोली मृतक दासको परिवार र दासको न्यायका लागि गठन भएको संघर्ष समितिका सदस्यलाई भेटेर न्यायिक आन्दोलनमा नेपाली कांग्रेसको पूर्ण सहयोग जनाउने प्रतिवद्धता समेत जनाए।
‘हरेक नागरिकको स्वतन्त्र पूर्वक बाँच्न पाउने संवैधानिक अधिकारलाई कुण्ठित गर्दै अन्तर विरोधलाई समाधान गर्ने कानूनी संवैधानिक उपाए र बिकल्प हुँदाहुँदै वीभत्स हत्याको जति निन्दा गरेपनि पुग्दैन’ क्षेत्रीय सभापति बिष्णु ढकालले भने, ‘यस घटनामा संलग्न जो सुकै भएपनि तत्काल पक्राउ गरी कानुनी दायरमा ल्याउन माग गर्दछु।’
नेपाली कांग्रेस कैलाली जिल्ला कार्य सम्पादन समितिका सदस्य तथा प्रचारप्रसार समितिका संयोजक नृपबहादुर सुनारले अपराधिक मानसिकताको पराकाष्ठाको चरम रुप हत्यापछि आफ्नो कल रेकर्ड गरी स्थानीयलाई त्रासपूर्ण अवस्था सिर्जना गर्ने दुस्साहसले कानुनी राज्यको उपहास गरेको बताए। उनले भने, ‘यस्ता कानुनी राज्यको उपहास गर्ने प्रवृत्तिले हामी र हाम्रो समाज अनि मानसिक प्रवृत्ति कता जाँदै छ, राज्यको अगाडि प्रश्न खडा भएको छ।’
क्रुर र निर्ममता पूर्वक हत्या गर्ने अपराधि भारत भागेको कुरा बाहिर आएको छ नृपबहादुर सुनारले भने, ‘हत्यामा संलग्नलाई तत्काल ईन्टरपोलमार्फत खोजबिन गरेर चाडोभन्दा चाडो पक्राउ गरेर कारवाही गर्न माग गर्दछु। यसमा गृहमन्त्रीको विशेष पहल होस र पिडित परिवारलाई न्यायको अनुभुति होस्।’
कैलाली प्रहरीले दासको हत्या आरोपमा संलग्न भएको आशंकामा एक जनालाई पक्राउ गरेको छ। हत्यापछि भेटिएको अडियो रिकर्डलाई आधार बनाएर अनुसन्धानमा जुटेको कैलाली प्रहरीले अपराधिको नजिक पुगिसेको बताउँदै आएको छ।
यता, दास हत्याको विरोध गर्दै न्यायको लागि ललित परियारको संयोजकत्वमा ५२ सदस्यीय संघर्ष समिति गठन गरीएको छ। समितिको अगुवाईमा हिजो ईलाका प्रहरी कार्यालय टीकापुरमा शान्तिपूर्ण नारा जुलुस गरीएको थियो।