काठमाडौं- मेडिकल कलेजहरुले चिकित्सा शिक्षा तर्फ स्नातक तहको अध्ययनमा अतिरिक्त शुल्क लिएपछि चिकित्सा शिक्षा आयोगले शिक्षण शुल्कको विषयमा थप प्रष्ट पार्दै सूचना जारी गरेको छ।
केही कलेजहरुले अतिरिक्त शुल्क मागेको भन्दै विद्यार्थीहरुले गुनासो गरेपछि आयोगले शुल्कको विषयमा थप स्पष्ट पारेको हो।
शिक्षण संस्थाले चिकित्सा शिक्षाको अध्ययन अवधिभरमा लिने भर्ना, शिक्षण, ल्याव, पुस्तकालय, सामुदायिक तालीम वा परीक्षा शुल्क बुझाउने भएकाले शिक्षण शुल्कभित्र विश्वविद्यालय रजिष्ट्रेशन शुल्क, आन्तरिक तथा विश्वविद्यालय परीक्षा शुल्क, फरेन्सिक पोष्टिङ, फिल्ड भिजिट, इन्टर्नसीप शुल्क, आवेदन शुल्क र सम्बन्धन शुल्कजस्ता विद्यार्थीहरुको पढाइ पूरा गर्न आवश्यक पर्ने शैक्षिक क्रियाकलापजन्य शुल्कसमेत समावेश भएको हुनाले यी विषयमा थप शुल्क नलाग्ने जनाएको छ।
यस्तै, काउन्सिल रजिष्ट्रेशनजस्ता शुल्क विद्यार्थी स्वयंले सम्बन्धित काउन्सिलमा बुझाउन सक्ने, शिक्षण संस्थाको होस्टेल, मेशजस्ता शुल्क विद्यार्थीको ऐच्छिक विषय हुने जनाएको छ।
मेडिकल कलेजले भने परीक्षा, तालिम, फिल्ड भिजिट, आवेदन लगायतका शिर्षकमा थप रकम माग गर्दै आएका छन्। कलेजले अतिरिक्त रकम मागेपछि विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन्।
त्यसैगरी,‘कानुनसम्मत बाहेक अनिवार्य नभएका विषयमा अनिवार्य भनी अतिरिक्त शुल्क लिदा छात्रवृत्तितर्फ कानुनले संरक्षण गरेका अतिन्यून आयस्रोत भएका विद्यार्थीसमेत पढाइबाट वञ्चित हुने स्थिति सिर्जना हुने भएकाले माथि उल्लेख भएजस्ता शुल्क नलिन र यस्तो अवस्था विद्यमान रहिरहेको अवस्थामा सम्बन्धित नियमक निकाय आकर्षित हुने तथा राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ का दफा १४ को उपदफा १ समेत आकर्षिकत हुने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ,’ सूचनामा भनिएको छ।