नयाँ दिल्ली- पाँच मध्य एसियाली देशहरू - काजाकिस्तान, किर्गिज गणतन्त्र, ताजिकिस्तान, तुर्कमेनिस्तान र उज्वेकिस्तानका विदेश मन्त्रीहरूले सोमबार प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन्। उनीहरूले उक्त अवसरमा भारतसँगको सम्बन्धलाई बलियो बनाउनुपर्ने धरणा राखेका छन्।
प्रधानमन्त्री मोदीले भारतले मध्य एसियाली देशहरूसँगको आफ्नो 'विस्तारित छिमेकी' को हिस्सा भएका देशहरूसँग दिगो र स्थायी सम्बन्धमा जोड दिएका हुन्। उनले भारत र मध्य एसियाबीचको आर्थिक सहयोगको सम्भावना र त्यस सम्बन्धमा कनेक्टिभिटीको भूमिकालाई पनि जोड दिए।
सन् २०१५ मा सबै मध्य एसियाली देशहरूमा र त्यसपछि कजाकिस्तान, उज्वेकिस्तान र किर्गिज गणतन्त्रको आफ्नो अविस्मरणीय भ्रमणको स्मरण गर्दै, प्रम मोदीले भारतीय चलचित्र, संगीतको लोकप्रियतालाई ध्यानमा राख्दै, भारत र मध्य एसिया बीचको सांस्कृतिक र जनता-जनताको सम्पर्क कायम राख्नुको महत्त्वलाई जोड दिएका छन्।
भारत–मध्य एसिया संवादको तेस्रो बैठकमा सहभागी हुने मध्य एसियाली मुलुकका विदेशमन्त्रीहरू नयाँ दिल्लीमा छन्। 'विदेश मन्त्रीहरूले प्रधानमन्त्री मोदीलाई आफ्ना राष्ट्रपतिहरूको अभिवादन सन्देश सम्प्रेषण गर्दै भारतसँगको सम्बन्धलाई अझ सुदृढ पार्न उहाँहरूको नेतृत्वमा जोड दिनुभएको छ,' विज्ञप्तिमा उल्लेख गरिएको छ।
भारतीय विदेशमन्त्री एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल पनि प्रधानमन्त्री मोदीको मध्य एसियाली देशका विदेशमन्त्रीहरूसँगको भेटमा उपस्थित थिए।
विदेशमन्त्री जयशंकरको अध्यक्षतामा आइतवार भएको भारत-मध्य एसिया वार्ताको छलफलबारे मन्त्रीहरूले प्रधानमन्त्री मोदीलाई जानकारी गराएका हुन्।
उक्त वार्ता, व्यापार र कनेक्टिभिटी, विकास साझेदारी र अफगानिस्तानको अवस्था सहित क्षेत्रीय विकासमा केन्द्रित थियो।
भारत-मध्य एसिया संवादले भारत र मध्य एसियाली देशहरूबीचको उत्कृष्ट द्विपक्षीय सम्बन्धलाई गति दिएको विश्वास गरिएको छ। भारत र मध्य एसियाली देशहरूले अर्को वर्ष आफ्नो कूटनीतिक सम्बन्ध स्थापनाको ३०औँ वार्षिकोत्सव मनाउँदै छन्।