काठमाडौं- अमेरिकी राष्ट्रपति जो बाइडेनका प्रमुख चिकित्सा सल्लाहकार डा. एन्थोनी फौचीले क्रिसमस यात्राले ओमिक्रोन भेरिएन्टको संक्रमण फैलन सक्ने चेतावनी दिएका छन्।
वरिष्ठ संक्रामक रोग विशेषज्ञ फौचीले एनबीसी टेलिभिजनको 'मिट द प्रेस' कार्यक्रममा कुरा गर्दै ओमिक्रोन भेरिएन्टको संक्रामक दर बढी भएकाले सतर्कता अपनाउनुपर्ने बताएका हुन्।
'यसमा कुनै शंकै छैन। ओमिक्रोनको संक्रामक दर बढी रहेको छ,' उनले भने। डा. फौचीले ओमिक्रोन भेरिएन्ट अहिले विश्वभर फैलिइरहेको पनि बताए। ओमिक्रोन भेरिएन्टको संक्रमण रोकथामका लागि अहिले विश्वका विभिन्न देशहरूले कडा स्वास्थ्य मापदण्ड अपनाइरहेका छन्।
युरोपेली मुलुकहरू फ्रान्स र जर्मनीले क्रिसमसमा भीडभाड हुन सक्ने भन्दै कडा प्रतिबन्ध लगाएका छन्। यद्यपि जर्मनीमा भने सरकारको निर्णयविरुद्ध व्यापक विरोध भएको छ।
डा. फौचीले ओमिक्रोनको बढ्दो संक्रमणले अमेरिकाको स्वास्थ्य प्रणालीमा प्रभाव पर्ने बताएका छन्। अहिलेकै अवस्थामा रहने भने अमेरिकी स्वास्थ्य प्रणालीमा निकै दबाब आउने उनको भनाइ छ। खोपको बुस्टर डोज लगाउनका साथै मास्क र सामाजिक दूरीको मापदण्ड पालना गर्न पनि उनको आग्रह छ।