काठमाडौं- संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) ले कोभिड –१९ महामारीका कारण नेपालमा बालबालिकाको स्वास्थ्य, सिकाइ र मनोसामाजिक अवस्थालाई असर पारेको जनाएको छ।
कोभिड–१९ महामारीको अवधिमा नेपालका दुई देखि चार वर्ष उमेर समूहका प्रत्येक पाँच जना बालबालिकामध्ये एक विकासको लयभन्दा बाहिर रहेको युनिसेफको एक अध्ययनले देखाएको छ।
अगस्तमा गरिएको प्रारम्भिक बाल विकास सूचांक सर्वेक्षणले ग्रामीण क्षेत्रमा बसोबास गर्ने बालबालिका, कम आय भएका परिवारका बालबालिका, अशिक्षित वा न्यून शिक्षास्तर भएका हेरचाहकर्ताहरूको रेखदेखमा रहेका बालबालिका र प्रारम्भिक बाल शिक्षा कार्यक्रमहरूमा सहभागी नभएका बालबालिका विकासको लयभन्दा टाढिने उच्च जोखिममा रहेको जनाएको छ।
फोनमा आधारित रहेर दुईदेखि चार वर्ष उमेर समूहका बालबालिकाको विकास आवश्यकता र स्थिति बुझ्नको लागि राष्ट्रव्यापी रूपमा बालबालिका भएका २८५३ घरधुरीहरूमा सर्वेक्षण गरिएको थियो ।
सर्वेक्षणबाट हेरचाहकर्ताहरूसँग किताबहरू पढ्ने, कथाहरू सुनाउने, गीत गाउने, घुम्न जाने, वस्तुहरूको नाम भन्ने, गन्ने, वा चित्र कोर्ने जस्ता बालबालिकाको चेतनालाई प्रस्फुटित गर्ने खालका प्रारम्भिक क्रियाकलापहरू उनीहरूको विकास र सिकाइको लागि महत्त्वपूर्ण भएको पाइएको छ।