काठमाडौं– पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनलाई बल दिन स्थापना गरिएको नेपाल विद्यार्थी संघलाई पछिल्लो समय कांग्रेसको नेतृत्व स्थापना गर्ने नर्सरीको रुपमा लिन थालिएको छ। २०२७ सालमा मार्सलजुलुम शाक्यलाई एक मतले पराजित गर्दै विपिन कोइराला पहिलो सभापति बनेको पाँच दशकभन्दा बढी समय भइसकेको छ। नेविसंघको दोस्रो सभापति शेरबहादुर अहिले पार्टीको सभापतिमा दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन्।
हालै सम्पन्न १४औं महाधिवेशनबाट मात्रै नेविसंघको नेतृत्व गरेका ११ जना नेता केन्द्रीय समितिमा निर्वाचित भएका छन्। २०२८ सालमा नेविसंघको दोस्रो सभापति भएका देउवाले पार्टीलाई दोस्रो पटक नेतृत्व गरिरहेका छन्। उनी दोस्रो पटक कांग्रेसको नेतृत्व गरिरहँदा नेविसंघका १० पूर्वअध्यक्ष पनि कांग्रेस केन्द्रमै छन्।
कांग्रेस उपसभापति र महामन्त्रीमा पनि नेविसंघ पृष्ठभूमिबाटै आएका नेताहरु निर्वाचित भएका छन्। कांग्रेसको उपसभापतिमा नेविसंघका पूर्वअध्यक्ष धनराज गुरुङ निर्वाचित भएका छन्। अर्का उपसभापति पूर्णबहादुर खड्का पनि नेविसंघका पूर्व महामन्त्री हुन्। हालै महामन्त्रीमा निर्वाचित विश्वप्रकाश शर्मा नेविसंघका पूर्वअध्यक्ष हुन् भने गगन थापा नेविसंघका पूर्व महामन्त्री। सहमहामन्त्री बद्री पाण्डे पनि नेविसंघको महामन्त्री बनिसकेका नेता हुन्।
नेविसंघका पूर्व अध्यक्षहरु ज्ञानेन्द्रबहादुर कार्की, बलबहादुर केसी, बालकृष्ण खाँड, एनपी साउद, गोविन्द भट्टराई, किशोर सिंह राठौर, नैनसिंह महर र राजीव ढुंगाना केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। नेविसंघका पूर्व महामन्त्रीहरु उमेशजंग रायामाझी, जितजंग बस्नेत र कुन्दनराज काफ्ले पनि कांग्रेस केन्द्रीय सदस्य भएका छन्।
त्यसो त नेविसंघको पृष्ठभूमिबाट आएर १४औं महाधिवेशनबाट कांग्रेस केन्द्रीय समितिमा निर्वाचित हुनेको भन्दा लामो सूची पराजित हुनेको पनि छ। सभापतिमा पराजित भएका विमलेन्द्र निधि र कल्याण गुरुङ नेविसंघका पूर्वअध्यक्ष हुन्। यस्तै, महामन्त्रीमा पराजित भएका प्रदीप पौडेल पनि नेविसंघ हाँकिसकेका नेता हुन् भने महामन्त्रीमै पराजित भएका डा. प्रकाशशरण महत नेविसंघका महामन्त्री भइसकेका नेता हुन्। केन्द्रीय सदस्यमा पराजित भएका मनोजमणि आचार्य पनि नेविसंघका पूर्वमहामन्त्री हुन्।
कांग्रेसको उपसभापतिमा नेविसंघका पूर्वअध्यक्ष धनराज गुरुङ निर्वाचित भएका छन्। अर्का उपसभापति पूर्णबहादुर खड्का पनि नेविसंघका पूर्व महामन्त्री हुन्।
अहिलेको कांग्रेस हाँक्ने पुस्ता नेविसंघको उत्पादन हो। तर, नेता उत्पादन गर्ने कारखाना नेविसंघ भने अहिले ‘टुहुरो’ बनेको छ। महाधिवेशन गराउने जिम्मेवारीसहित तदर्थ समितिका अध्यक्ष राजीव ढुंगाना केन्द्रीय सदस्यमा निर्वाचित भएसँगै नेविसंघ ‘टुहुरो’ बनेको हो। कांग्रेस विधानको दफा ४२ को उपदफा १ (घ) मा भ्रातृ संघको पदाधिकारी वा सदस्य पार्टीको कुनै पनि तहको कार्यसमितिमा निर्वाचित वा मनोनित भएमा भ्रातृ संघको पद रिक्त हुने व्यवस्था छ । ‘पार्टीको कुनै पनि तहको पदाधिकारी वा सदस्य भ्रातृ संघको पदाधिकारी वा सदस्य हुनेछैन। भ्रातृ संघको कार्यसमितिका पदाधिकारी वा सदस्य पार्टीको कुनै पनि तहको कार्यसमितिमा निर्वाचित वा मनोनित भएमा निजको भ्रातृ संघको पद स्वतः रिक्त हुनेछ,’ कांग्रेस विधानमा उल्लेख छ। विधानको यो व्यवस्था अनुसार अब ढुंगाना नेविसंघका अध्यक्ष रहेनन्। जसका कारण नेविसंघमा संस्थागत शून्यता छाएको छ।
निश्चित कार्यादेश दिएर बनाइएको तदर्थ समिति नेतृत्वविहीन हुनु भनेको कुनै पनि संस्थाका लागि शून्यताको अवस्था हो। तसर्थ अहिले नेविसंघ संस्थाका रुपमा छ, यसको इतिहास पनि छ। तर, यसको कार्यसमिति छैन।
त्यसो त समयमा महाधिवेशन हुन नसकेका कारण नेविसंघ तदर्थवादमा चल्दै आएको थियो। नेविसंघलाई नै राजनीतिक जग बनाएका नेताले कांग्रेसको नेतृत्व गरिरहेको र आगामी महाधिवेशनमा पनि सभापतिदेखि केन्द्रीय सदस्यसम्मका नेताहरु जन्माएको कांग्रेसको उर्वर नर्सरी कोमामा पुगेको छ। पार्टीका एक नेताका अनुसार यतिबेला नेविसंघको शरीर र आत्मा दुवै छैन। टाउकै नभएपछि शरीर रहन सम्भव छैन। जसका कारण नेता उत्पादन गर्ने कारखानालाई हालै निर्वाचित कांग्रेसको केन्द्रीय समितिले पुनर्जीवन दिनुपर्ने छ।
अहिलेको कांग्रेस हाँक्ने पुस्ता नेविसंघको उत्पादन हो। तर, नेता उत्पादन गर्ने कारखाना नेविसंघ भने अहिले ‘टुहुरो’ बनेको छ। महाधिवेशन गराउने जिम्मेवारीसहित तदर्थ समितिका अध्यक्ष राजीव ढुंगाना केन्द्रीय सदस्यमा निर्वाचित भएसँगै नेविसंघ ‘टुहुरो’ बनेको हो।
कांग्रेसका नवनिर्वाचित उपसभापति धनराज गुरुङ अहिले नेविसंघ छैन भन्ने मान्नुपर्ने बताउँछन्। अब कांग्रेसले नेविसंघ गठन गरेर पुनर्जीवन दिनुपर्ने उनको तर्क छ। ‘अहिले नेविसंघ छैन भन्ने मान्नुस्। तदर्थ समितिका अध्यक्ष पार्टीको केन्द्रीय सदस्य निर्वाचित हुनुभएको छ। यसको अर्थ नेविसंघ अहिले छैन भन्ने हो,’ नेविसंघका पूर्वअध्यक्ष समेत रहेका उपसभापति गुरुङ भन्छन्, ‘अब नेविसंघ गठन गर्नुपर्ने छ। अब गठन हुने नेविसंघले महाधिवेशन गराउने छ। हामी कार्यान्वयन गर्ने ठाउँमा पुगिसकेका छौं। अब नेविसंघलाई तदर्थवादमा चल्न दिनहुँदैन र दिँदैनौं पनि।’
०००
नेविसंघको महाधिवेशन प्रत्येक दुई वर्षमा गर्नुपर्ने वैधानिक व्यवस्था छ। तर, विगत पाँच वर्षदेखि नेविसंघको महाधिवेशन हुन सकेको छैन। २०७३ सालमा भएको महाधिवेशनबाट नैनसिंह महर अध्यक्ष भएका थिए। उनले दुई वर्ष र थप गर्न मिल्ने ६ महिना गरी साढे दुई वर्ष नेविसंघ चलाए। तर पनि नेविसंघको नियमित महाधिवेशन गर्न उनी असफल भए। उनी असफल भएपछि राजीनामा गर्न बाध्य भए। उनकै अक्षमताका कारण अहिले नेविसंघ कोमामा जाने स्थितिमा पुगेको छ। यद्पि सहायक कारणहरु अन्य पनि होलान्। पार्टीको नेतृत्व उत्पादन गर्न थलोलाई कोमामा पुर्याउन भूमिका खेलेका महरले भने नेविसंघलाई पार्टी राजनीतिमा उक्लिने भर्याङका रुपमा राम्रैसँग उपयोग गरे।
महरको राजीनामापछि २०७६ माघ १६ मा कांग्रेसले नेविसंघको कार्यसमिति भंग गर्दै राजीव ढुंगानाको अध्यक्षतामा तदर्थ समिति बनायो। समितिलाई ६ महिनाभित्र महाधिवेशन गर्ने जिम्मेवारी दिइएको थियो। तर, ढुंगाना नेतृत्वको समितिले ६ महिनाभित्र महाधिवेशन गराउन सकेन। र, गत साउन ३० गते तेस्रो पटक ६ महिनाका लागि म्याद थप गरिएको छ। यसअघि २०७७ साउन १६ र २०७७ माघ १३ गते नेविसंघको म्याद ६–६ महिनाका लागि थपिएको थियो।
प्रत्येक दुई वर्षमा नेविसंघको महाधिवेशन गराउने व्यवस्था भए पनि महरको कार्यकालदेखि अर्थात विगत पाँच वर्षदेखि नेविसंघको महाधिवेशन हुन सकेको छैन। गुटबन्दी र नेताहरूको व्यक्तिगत स्वार्थको सिकार बनेको नेविसंघ लामो समयदेखि भद्रगोल छ। महाधिवेशन गराउने जिम्मेवारी पाएर नेविसंघ अध्यक्ष बनेका राजीव ढुंगाना पदमा बहाल रहेकै बखत पार्टीको केन्द्रीय सदस्य बनेका छन्। उनी आफूले निर्वाचित भएको प्रमाणपत्र नपाउँदासम्म आफैं पदमा बहाल रहेको दाबी गरेका छन्ग। ‘म अहिले पनि नेविसंघको अध्यक्ष हुँ, किनकी मैले पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भएको प्रमाणपत्र पाएको छैन,’ उनले भने, ‘मैले प्रमाणपत्र पाएका दिन म नेविसंघको जिम्मेवारीमा रहन्नँ।’
तपाईं जिम्मेवारीबाट हट्दै गर्दा नेविसंघको भविष्यका बारेमा केही सोच्नुभएको छ? भन्ने प्रश्नमा ढुंगानाको जवाफ छ, ‘यसबारे पार्टीले सोचिहाल्छ नि। पार्टीले उपयुक्त निर्णय लिइहाल्छ। मलाई पनि पार्टीले सोचविचार गरेरै जिम्मेवारी दिएको थियो। त्यसैले आत्तिन पर्ने केही छैन।’
नेविसंघको इतिहास
२००७ सालमा आएको प्रजातन्त्र त्यसको ठिक १० वर्षपछि २०१७ सालमा तत्कालीन राजा महेन्द्रबाट खोसियो। प्रजातन्त्र खोसिएको १० वर्षपछि प्रजातन्त्र पुनर्स्थापनाको प्रमुख उद्देश्य राखेर कांग्रेसले युवा–विद्यार्थीलाई एकजुट बनाउन २०२७ सालमा नेविसंघको स्थापना गरेको थियो। २०२७ वैशाख ६ गते कांग्रेसका तत्कालीन कार्यवाहक सभापति कृष्णप्रसाद भट्टराईले नेविसंघको पहिलो महाधिवेशन काठमाडौंको स्वयम्भूमा उद्घाटन गरेका थिए। नेविसंघको पहिलो अध्यक्ष थिए– विपीन कोइराला। कोइरालापछि नेविसंघले अहिलेसम्म १९ जना अध्यक्ष पाइसकेको छ।
पञ्चायती व्यवस्थामा कांग्रेसका विद्यार्थी नेताहरू संगठित हुँदै ०२७ सालमा नेविसंघ स्थापना भएको थियो। विपिन कोइरालाले मार्सलजुलुम शाक्यलाई एक मतले पराजित गरेर पहिलो सभापति भएको ५१ वर्षसम्म आइपुग्दा १९ जना नेविसंघको अध्यक्ष भइसकेका छन्। जसमा ६ निर्वाचित, ५ सर्वसम्मत र ८ अध्यक्ष तदर्थ समितिबाट आएका छन्।
नेविसंघको महाधिवेशन प्रत्येक २ वर्षमा गर्नुपर्ने वैधानिक व्यवस्था छ। तर, विगत ५ वर्षदेखि नेविसंघको महाधिवेशन हुन सकेको छैन। गुटबन्दी र नेताहरूको व्यक्तिगत स्वार्थको सिकार बनेको नेविसंघ लामो समयदेखि भद्रगोल छ।
नेविसंघका १९ अध्यक्षमध्ये एक जनाले मात्रै समयमै अर्थात् निर्वाचित भएको दुई वर्षे कार्यकालभित्रै महाधिवेशन गरी नेतृत्व हस्तान्तरण गरेका छन्। २०५७ सालमा आठौं महाधिवेशनबाट अध्यक्ष भएका विश्वप्रकाश शर्माले ०५९ मा नवौँ महाधिवेशन गरेर गुरुराज घिमिरेलाई नेतृत्व हस्तान्तरण गरेका थिए। तर, अरू कुनै पनि सभापतिले नियमित कार्यकालमा नेतृत्व हस्तान्तरण गर्न सकेनन्। निर्वाचित नेतृत्वले महाधिवेशन गर्न नसक्ने, तर तदर्थ समितिलाई महाधिवेशन गराउन सहयोग गर्ने पार्टीको नीतिले पनि नेविसंघ गुटगत राजनीतिले ग्रस्त छ।
०२७ सालमा विपिन कोइराला अध्यक्ष भएको दुई वर्ष नपुग्दै ०२८ सालमा शेरबहादुर देउवा सर्वसम्मत रूपमा नेविसंघ अध्यक्ष भएका थिए। पञ्चायती व्यवस्था उत्कर्षमा पुगेको त्यो समयमा दोस्रो महाधिवेशन गराउन देउवालाई ९ वर्ष लाग्यो। देउवा जेल परेकाले बलबहादुर केसी कार्यवाहक अध्यक्ष बनाइएका थिए। ०३६ सालमा देउवा नेतृत्वले तेस्रो महाविधेशन गराउँदा विमलेन्द्र निधि सभापतिमा चुनिए।
बीपी कोइरालाले सर्वसम्मत रूपमा अध्यक्ष बनाए पनि तीन वर्ष बित्दासमेत निधिले महाधिवेशन गर्न सकेनन्। त्यसपछि निधि जिम्मेवारीबाट बाहिरिए। निधि बाहिरिएपछि ०३९ सालमा ज्ञानेन्द्रबहादुर कार्कीको नेतृत्वमा तदर्थ समिति गठन भयो। कार्की नेतृत्वको तदर्थ समितिले ०४० सालमा गराएको चौथो महाधिवेशनबाट बलबहादुर केसी सर्वसम्मत अध्यक्ष बने। डा. प्रकाशशरण महत केसीका प्रतिस्पर्धी भए पनि पार्टीले नेतृत्वका लागि निर्वाचन गराएको थिएन।
केसीले चार वर्षपछि ०४४ सालमा गराएको पाँचौं महाधिवेशनबाट बालकृष्ण खाँड सर्वसम्मत रूपमा अध्यक्ष भए। खाँडले चार वर्षपछि महाधिवेशन गराए। ०४८ भएको छैटौँ महाधिवेशनबाट एनपी साउद अध्यक्ष निर्वाचित भए। साउदले नवीन्द्रराज जोशीलाई पराजित गरेका थिए। साउदले नेविसंघ महाधिवेशन गराउनका लागि उद्घाटन गरेर पनि सम्पन्न हुन सकेको थिएन। महाधिवेशन गर्न नसकेपछि साउदले राजीनामा दिए।
नेविसंघका १९ अध्यक्षमध्ये एक जनाले मात्रै समयमै अर्थात् निर्वाचित भएको दुई वर्षे कार्यकालभित्रै महाधिवेशन गरी नेतृत्व हस्तान्तरण गरेका छन्। २०५७ सालमा आठौं महाधिवेशनबाट अध्यक्ष भएका विश्वप्रकाश शर्माले ०५९ मा नवौँ महाधिवेशन गरेर गुरुराज घिमिरेलाई नेतृत्व हस्तान्तरण गरेका थिए।
साउदको राजीनामापछि तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले ०५३ सालमा धनराज गुरुङलाई तदर्थ समितिको अध्यक्ष बनाए। अध्यक्ष भएको ७ महिनामै गुरुङले महाधिवेशन गराए। सातौँ महाधिवेशनबाट गोविन्द भट्टराई अध्यक्ष बनेका थिए। भट्टराईले चार वर्षपछि ०५७ सालमा आठौँ महाधिवेशन गराउँदा विश्वप्रकाश शर्मा निर्वाचित भए। शर्माले किशोरसिंह राठौरलाई पराजित गरेर अध्यक्ष बनेका थिए।
०५८ सालमा कांग्रेस फुटेपछि कांग्रेस प्रजातान्त्रिकबाट किशोरसिंह राठौर तदर्थ समितिका अध्यक्ष भए। उनी नेतृत्वको समितिले सोही वर्ष गराएको महाधिवेशनबाट कल्याण गुरुङ अध्यक्ष बने। निर्वाचित भएको दुई वर्षमै विश्वप्रकाशले महाधिवेशन गराएर गुरु घिमिरेलाई नेतृत्व हस्तान्तरण गरेका थिए। कल्याण गुरुङ नेविसंघको सभापति भए पनि उनलाई महाधिवेशन गराउने म्यान्डेट प्राप्त थिएन। उनी कांग्रेस प्रजातान्त्रिक निकट नेविसंघ अध्यक्ष थिए।
विश्वप्रकाश शर्माको समितिले ०५९ सालमा गराएको महाधिवेशनबाट गुरु घिमिरे निर्वाचित भए। तर, घिमिरे नेतृत्वको समितिले महाधिवेशन गर्न सकेन। त्यसपछि ०६१ सालमा केशव सिंहको नेतृत्वमा तदर्थ समिति बन्यो, तर उनले पनि महाधिवेशन गर्न सकेनन्। पोखरामा महाधिवेशन उद्घाटन भयो। प्रतिनिधि छनोटका विषयमा भएको विवाद चुलिएपछि पार्टीले महाधिवेशन नै स्थगित गरिदियो। त्यसपछि महेन्द्र शर्माको नेतृत्वमा ०६२ सालमा तदर्थ समिति बन्न पुग्यो। शर्मा नेतृत्वको समितिले ०६४ सालमा १०औँ महाधिवेशन गर्दा प्रदीप पौडेल सभापतिमा निर्वाचित भए। तर, उनी नेतृत्वको समितिले पनि महाधिवेशन गर्न सकेन।
२०६९ सालमा रञ्जित कर्णको नेतृत्वमा तदर्थ समिति बन्यो। कर्ण नेतृत्वको समितिले २०७३ सालमा गराएको महाधिवेशनबाट नैनसिंह महर अध्यक्षमा निर्वाचित भए। तर, उनले पनि महाधिवेशन गराउन सकेनन् र २०७६ सालमा राजीव ढुंगानाको नेतृत्वमा तदर्थ समिति बनाइएको थियो। महाधिवेशन गराउन ६ महिनाको समय पाएका ढुंगानाको कार्यकाल पटकपटक थप भयो। तर, महाधिवेशन हुन नसकेकै बखत ढुंगाना पार्टी राजनीतिमा होमिए। ढुंगाना मातृ पार्टीको केन्द्रीय सदस्य भएपछि नेविसंघको जिम्मेवारी कसले पाउला र कहिले महाधिवेशन होला? उत्तर देउवा नेतृत्वको नवनिर्वाचित केन्द्रीय समितिसँगै छ।