उदयपुर- उभौली पर्वको अवसरमा किराँत राजा यलम्बरको सालिक अनावरण गरिएको छ। उदयपुरको चौदन्डीगढी नगरपालिका-७ बुधबारेस्थित साकेला थानमा प्रथम किराँत राजा यलम्वर हाङको ढुङ्गे शालिक अनावरण गरिएको हो। करिब ५ फिटको सो ढुङ्गे शालिक चौदण्डीगढी नगरपालिकाका मेयर खगेन्द्र राईले अनाबरण गरेका हुन।
राईले आदिवासी जनजातिले राष्ट्रिय एकतालाई जोगाउन विशेष ध्यान दिनुपर्ने बताए।
सालिक स्वर्गीय कृष्णबहादुर राईको स्मृतिमा उनकी श्रीमतीत्रय किन्दरमाया, सुनमाया र ध्रुवतारा राई लगायत परिवारका सदस्यले ४ लाख २५ हजार रुपैयाको लगानीमा तयार गरिएको हो।
एउटै ढुङ्गालाई काेपेर मूर्तिकार धिराज राईले सालिक निर्माण गरेका हुन्। यलम्वर हाङको मूर्ति अनवारण पश्चात् उपस्थित किराँतहरुले साकेला सिलि नृत्यमा उत्सव मनाएका थिए। कार्यक्रम किराँत राई यायोख्याका नगर कमिटी अध्यक्ष अन्जना राईको अध्यक्षतामा भएको थियो। उभौली पर्व १५ दिन सम्म मनाईने गरिन्छ। -न्युज कारखाना