काठमाडौं-कृषकलाई दिइने अनुदान रकममा भएको अनियमितताको छानविन गर्न सोमबार कृषि मन्त्रालयद्धारा समिति गठन गरिएको छ । समितिले काम शुरु गरिसकेको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सहसचिव एवं नीति तथा अन्र्तराष्ट्रिय सहयोग समन्वय महाशाखा प्रमुख तेजबहादुर सुवेदीको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको छ ।
मन्त्रालयले वितरण गर्ने गरेको अनुदान रकम वास्तविक किसानसमक्ष पुग्न नसके भन्दैै चौतर्फी गुनासाहरु आएपछि समिति गठन गरिएको हो । मुख्यगरी समितिले व्यवसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) लगायत विभिन्न आयोजनाबाट अनुदान रकमको ठूलो परिमाणमा दुरुपयोग भएको छ ।
समितिले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्रभावकारी ढंगले सञ्चालन हुन नसकेको समेत गुनासा आएका छन् । त्यसको पनि छानविन गर्नेछ । मन्त्रालयले यसअघि सारेको ५८ बुँदे कार्ययोजनालाई टेकेर समिति गठन गरेको हो ।
को को छन् समितिमा
मन्त्रालयका सहसचिव तेजबहादुर सुवेदी संयोजक रहेको समितिमा गंगादत्त आचार्य, नेत्र भण्डारी, लालकुमार श्रेष्ठ, विनोद भट्टराई, तिलक चौलागाई, नारायण काफ्ले, होमबहादुर विक, इन्द्रहरी पौडेल, सुजन ढुंगेल र अरुण जिसी छन् ।
समितिले एक महिनाभित्र अनुदान रकममा भएको अनियमितता, दुरुपयोग लगायत सम्पूर्ण रकमको छानविन गरि मन्त्रालयसमक्ष प्रतिवदेन पेश गर्नेछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४