शशांक केन्द्रीय सदस्यमध्ये सर्वाधिक मत ल्याएर लोकप्रिय बनेका छन्। तर महामन्त्री हुँदा ‘सक्रिय’ भएर सभापति देउवाको रखबारी गर्न सकेको भए उनी यति बेला सभापतिको कुर्सीमा विराजमान हुने थिए।
काठमाडौं– नेपाली कांग्रेसका निवर्तमान महामन्त्री शशांक कोइराला पार्टी केन्द्रीय सदस्यमा सर्वाधिक मत ल्याएर विजयी भएका छन्। ३८३६ मत ल्याएर अंकका हिसाबले 'म्यान द इलेक्सन' भएका कोइराला कुनै प्यानलमा भने थिएनन्। पार्टीको निर्वाचनमा शशांक शेरबहादुर देउवा, विमलेन्द्र निधि, प्रकाशमान सिंह र शेखर कोइराला कसैको पक्षमा खुलेनन्। दोस्रोपटक भएको निर्वाचनमा सिंह र निधिको समर्थनमा देउवा सभापतिमा निर्वाचन भए। कोइराला परिवारकै भए पनि शशांकले चुनावमा शेखरलाई सहयोग गरेनन्। शेखर पराजित भए।
जानकारहरुका अनुसार कुनै पक्षमा नखुलेका कारण शशांकमाथि सबैले विश्वास गरेका हुन्। शशांक निकट नेताहरू भन्छन्, ‘आगामी दिनमा सबैका नेता बन्न उहाँ कतै पनि खुल्न चाहनु भएन। सभापतिमा रामचन्द्र अघि नसरेपछि शशांकले पनि आफूलाई सबैको नेता बन्ने प्रयासस्वरूप कसैलाई समर्थन गर्नुभएन।’ तर शशांकले सहयोग नगर्दा शेखरको चित्त दुखाइ रहेको शेखर निकट नेताहरू बताउँछन्।
महाधिवेशन प्रक्रिया सुरु हुनुअघि शशांकले आफूलाई सभापतिको प्रत्यासीका रूपमा उभ्याएका थिए। यद्यपि उनले सभापतिको उम्मेदवार हुँ भनेर सार्वजनिक घोषणा भने गरेका थिएनन्। प्रत्यासीहरूसँग भेटघाट तीव्र पारेपछि धेरैले सोचेका थिए– चौधौं महाधिवेशनमा शशांक सभापतिका काबिल उम्मेदवार हुन्।
शशांक सभापतिको मैदानमा उत्रनुअघि प्रकाशमान सिंह र विमलेन्द्र निधिसँग सहमति जुटाउन चाहन्थे। रामचन्द्र पौडेलबाट पनि आफूलाई सहयोग होस् भन्ने उनको अपेक्षा थियो। त्यसैले सके आफ्नो नाममा नभए पनि रामचन्द्रका नाममा सहमति जुटाउन प्रयासरत थिए शशांक। यसका लागि शशांकले प्रकाशमान र विमलेन्द्रसँग पटकपटक लन्च मिटिङ गरे। नेतात्रयबीच चौधौं महाधिवेशनमा जसरी पनि सभापतिमा शेरबहादुर देउवालाई हराउने रणनीतिमा छलफल भएको कुरा बाहिर आउँथ्यो।
‘म अहिलेको अवस्थामा कुनै पनि गुटको प्रतिनिधित्व गर्दिनँ। मलाई दुवै गुटले मन पराएका छन्। तर म कुनै गुटको प्रतिनिधित्व गर्दिनँ।’
तर कात्तिक अन्तिममा आइपुग्दा तीन नेताबीच मनमुटाव बढ्न पुग्यो। शशांक सभापतिका लागि चार नेता (रामचन्द्र पौडेल, सिंह, निधि र आफू) मध्ये एकजनामा सहमति जुटाउन चाहन्थे। सहमति जुटाउन उनले अन्तिम समयसम्म पनि प्रयास जारी राखे। अन्तिम पटक मंसिर ४ गते चाक्सीबारी पुगेर सिंहलाई सहमतिमा आउन अनुरोध गरे। शशांकले भनेका थिए, ‘हामी–हामीबीचमै मतभेद भयो भने राम्रो हुँदैन। सबैलाई मिलाएर जानुपर्छ। सबै जना बसेर सल्लाह गरौं।’ तर सल्लाह गर्न कोही पनि तयार नरहेको र सिंहले पनि आफ्नो परिवारले सधैं त्याग मात्रै गर्दै आएको भन्दै अब त्याग नगर्ने अडान राखे। त्यसपछि निराश भएका शशांक रामचन्द्र पौडेलका पक्षमा सहमति जुटोस् भनेर सभापतिको ‘रेस’ बाट बाहिरिएका थिए।
उनले सोचेजस्तो परिस्थिति बनेन। सभापतिमा रामचन्द्रले उम्मेदवारी दिएनन्। रामचन्द्रले आफूले उम्मेदवारी नदिने घोषणा गर्दासम्म शशांकलाई सभापतिमा लड्छु भनेर घोषणा गर्न निकै ढिला भइसकेको थियो। त्यसैले उनले सदस्यमै उम्मेदवारी दिएर आफ्नो लोकप्रियता जाँच्न चाहे। नभन्दै उनी लाेकप्रियताको कसीमा अब्बल ठहरिए। तर सभापतिमा नउठेकामा र परिवारभित्रकै शेखरलाई खुलेर सहयाेग गर्न नसकेकोमा यति बेला शशांक चुकचुकाइरहेको हुनुपर्छ।
त्यसो त शशांकले आफू कुनै गुटमा नरहेको स्पष्टाेक्ति दिइनै रहे। महाधिवेशनका क्रममा मतदानस्थलमा पत्रकारसँग उनले भनेका थिए, ‘म अहिलेको अवस्थामा कुनै पनि गुटको प्रतिनिधित्व गर्दिनँ। मलाई दुवै गुटले मन पराएका छन्। तर म कुनै गुटको प्रतिनिधित्व गर्दिनँ।’ उनले महाधिवेशनमा गुट देखा पर्नु स्वाभाविक भए पनि आफू सधैं पार्टी एक होस् भन्ने पक्षमा रहेको बताएका थिए।
तेह्रौं महाधिवेशनमा महामन्त्री निर्वाचित भएपछि शशांकप्रति पार्टीमा धेरै आशा थियो। खास गरी देउवा इतरका कार्यकर्ताले उनलाई सक्रिय महामन्त्रीका रूपमा देख्न चाहन्थे। तर शशांकमाथि महामन्त्रीका रूपमा निष्क्रिय र सभापति देउवाको रखबारी गर्न नसकेको गुनासो धेरैले गर्न थाले। त्यसको परिणाम हुनुपर्छ शशांकलाई सभापतिका लागि खुलेर समर्थन गर्न कसैले आँट गरेनन्।
‘शशांक शेखरको प्रचारप्रसारमा कहीं पनि देखिएनन्। सुजाताका बारेमा भन्नु परेन। गिरिजाप्रसादकी छोरी र विश्वेश्वरप्रसाद कोइरालाका छोरा दुवै शेखरको विरोधमा उत्रिए। यो चाहिँ कोइराला परिवारको दुर्भाग्य हो।’
महामन्त्रीका रुपमा शशांकभन्दा केन्द्रीय सदस्य शेखर कोइराला बितेको पाँच वर्ष सक्रिय भएर चौधौं महाधिवेशनमा दरिलो नेताका रूपमा स्थापित हुन प्रयासरत रहे। अघिल्लो कार्यकालमा शशांक पनि शेखर जतिकै सक्रिय भइदिएको भए पार्टी सभापतिमा उनको सशक्त दाबी मात्रै हुने थिएन। यति बेला उनी सभापतिको कुर्सीमा विराजमान हुने थिए।
महाधिवेशनमा केन्द्रीय सदस्य पदमा सर्वाधिक मत ल्याएर शशांक ‘सर्वमान्य’ नेता बनेका छन्। शशांक जति लोकप्रिय भए त्यस विपरीत परिवारका सदस्यका लागि भने उनी सहयोगी बन्न सकेनन्। सोही कारण पनि यसपटकको निर्वाचनमा कोइराला परिवारको राजनीतिक र सामाजिक सद्भाव बिथोलिएको राजनीतिक विश्लेषक पुरञ्जन आचार्य बताउँछन्।
कोइराला परिवारबाट कांग्रेस राजनीतिमा सक्रिय गिरिजाप्रसाद कोइरालाकी पुत्री सुजाता, बीपी पुत्र शशांक र केशव कोइरालाका पुत्र शेखर कोइराला एकै ठाउँमा नउभिँदा कांग्रेसको नेतृत्व नै अर्कोतिर सरेको उनको बुझाइ छ।
उनी भन्छन्, ‘कोइराला परिवारमा एक जना राजनीतिमा सक्रिय भयो भने बाँकी सबैले सहयोग गर्ने भन्ने संस्कार र परम्परा थियो। यसपटक त्यस्तो देखिएन।’ शशांकले खुलेर नबोले पनि सभापतिको निर्वाचनमा शेरबहादुर देउवालाई सहयोग गरेको उनको तर्क छ। उनी भन्छन्, ‘शशांक शेखरको प्रचारप्रसारमा कहीं पनि देखिएनन्। सुजाताका बारेमा भन्नु परेन। गिरिजाप्रसादकी छोरी र विश्वेश्वरप्रसाद कोइरालाका छोरा दुवै शेखरको विरोधमा उत्रिए। यो चाहिँ कोइराला परिवारको दुर्भाग्य हो।’
शशांक कांग्रेसको तेह्रौं महाधिवेशनमा १४१७ मत ल्याएर महामन्त्रीमा निर्वाचित भएका थिए। कांग्रेसका संस्थापक नेता एवम् प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपीका पुत्र शशांक आँखाका डाक्टर हुन्। २०६४ सालको संविधानसभा निर्वाचनमा नवलपरासीबाट चुनाव लडेर संसदीय राजनीतिमा प्रवेश गरेका शशांक पार्टीमा स्वच्छ छविका नेता मानिन्छन्।
अहिले उनी सर्वाधिक मत ल्याएर कांग्रेस वृत्तमा दरिलो नेताका रुपमा स्थापित भएका छन्। यो लोकप्रियता जोगाउँदै थप सक्रिय बनेर आगामी महाधिवेशनमा सर्वसम्मत सभापतिका लागि तयार हुन्छन् या महामन्त्री हुँदा जस्तै निष्क्रिय भएर राजनीतिबाट बिस्तारै ओझेल पर्छन्, त्यो चाहिँ उनकै गतिविधिमा निर्भर रहनेछ।