काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले मौलिक नेपाली सभ्यतालाई संरक्षण गरी जीवन्त राख्नु सरकारको साझा दायित्व भएको बताएका छन्।
राष्ट्रिय ज्यापु दिवसको अवसर पारेर आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री देउवाले मौलिक नेपाली सभ्यतालाई संरक्षण गरी जीवन्त राख्नु सरकारको साझा दायित्व भएको बताएका हुन्।
उनले काठमाडौं उपत्यकामा संस्कृति र सम्पदाको संरक्षण गर्न ज्यापु समुदाय लागि परेको भन्दै ज्यापु समुदायलाई चाहिएको सहयोग गर्न सरकार तयार रहेको पनि बताए। प्रधानमन्त्री देउवाले साझा मौलिक संस्कृति, परम्पराले अनेकतामा एकताको भावना सिर्जना गरेको भन्दै कला, संस्कृति, सम्पदाको विकासमा अझ लाग्नुपर्नेमा जोड दिए।
प्रधानमन्त्री देउवाले भने, ‘नेपालको भौगोलिक, जैविक विविधता, प्राकृतिक र सांस्कृतिक सम्पदा र सामाजिक बनावट विश्वभरमै नमुनाको रुपमा रही आएको छ। विभिन्न जातजाति, भाषाभाषी, सांस्कृतिक समूहहरुको सहअस्तित्व, साझा परम्परागत मौलिक संस्कृति र सभ्य नेपाली पहिचान गौरव महत्वपूर्ण सभ्यतालाई संरक्षण गरी जीवन्त राख्नु हाम्रो साझा दायित्व हो। यिनै साझा मौलिक संस्कृति, परम्पराले अनेकतामा एकताको भावना सिर्जना गर्दै राष्ट्रिय एकता र अखण्डतालाई सुरक्षित बनाएको छ।’
प्रधानमन्त्री देउवाले ज्यापु समाज धेरै पुरानो संस्कृति भएको समाज भएकाले सरकारले सार्वजनिक बिदा घोषणा गरेको समेत बताए।