नयाँदिल्ली– पन्जावको अमृतसरस्थिर गोल्डेन टेम्पलमा एक युवकको हत्या भएको छ। शिख धर्मको निन्दा गरेको आरोपमा एउटा समूहले युवकको हत्या गरेको हो। ती युवक नियमित साँझको प्रार्थनाको समयमा रेलिङ चढेर मन्दिरको गर्भगृहमा पुगेका थिए।
उनले शिखहरुको पवित्र पुस्तक गुरु ग्रन्थ साहिव अगाडि रहेको एउटा तरबार समाउने प्रयास गरेका थिए। निधारमा पहेलो फेटा बाँधेका ती युवकको अस्वाभाविक कार्य देखेपछि भक्तजनले उनलाई समाउने प्रयास गरेका थिए।
सो घटनाबारे सार्वजनिक भएको एउटा सीसी क्यामेराको भिडियो फुटेजमा अन्दाजी २५ वर्ष ती व्यक्तिको अस्वाभाविक गतिविधिपछि प्रार्थना गर्न आएका व्यक्तिले होहल्ला गरेका थिए। त्यसपछि उनी मन्दिरको रेलिङबाट हाम फालेका थिए।
एकै क्षणमा मन्दिरमा जम्मा भएका केही व्यक्तिले उनलाई समातेर कुटेका थिए। लगत्तै उनको मृत्यु भएको थियो। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।