धनगढी- कैलालीको अत्तरियामा गुडिरहेको ट्रकमा आगलागी भएको छ। दाङबाट सिमेन्ट बोकेर धनगढीतर्फ जाँदै गरेको सुपप्र ०२ - ००१ - ख ११५९ नम्बरको ट्रकमा आइतबार बिहान एक्कासी आगलागी भएको हो।
चिसोका कारण ब्रेकमा समस्या आएपछि ट्रकको पछाडीको टायरमा आगलागी भएको प्रहरीले जनाएको छ। चिया खानका लागि बिच बाटोमा रोकेका बेला कुनै समस्या नभए पनि अत्तरिया पुग्दै गर्दा गन्धा आउन थालेपछि रोक्ने बेला टायरमा एक्कासी आगलागी भएको ट्रक चालक पदमराज जोशीले बताए।
आगलागी हुने बित्तिकै अत्तरियाको पूर्व रोडमा आसपसका स्थानियले पानी हालेर आगो नियन्त्रणमा लिने प्रयास गरेका थिए। लगत्तै गोदावरी नगरपालिकाको दमकल बोलाएर आगो नियन्त्रणमा लिइएको थियो।
टायरमा आगलागी भए पनि ट्रक क्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ।