काठमाडौं- काठमाडौंको स्वयम्भूनजिक छाउनीमा शुक्रबार साँझ ट्याक्सी ड्राइभरमाथि चक्कु प्रहार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
शुक्रबार साँझ सवा ६ बजे काठमाडौं महानगरपालिका वडा नम्बर १३ छाउनी नेपाल टेलिकम अगाडि एक जना ट्याक्सी ड्राइभरमाथि चक्कु प्रहार भएको थियो।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बा१ज १४४६ नम्बरको ट्याक्सी चालक काभ्रे रोशी गाउँपालिका-२ घर भई हाल डल्लु बस्ने ३८ वर्षीय कृष्णबहादुर लामामाथि चक्कु प्रहार भएको बताएका छन्।
लामालाई ट्याक्सीमा सवार बारा कलैया घर भएका १९ वर्षीय विकास सरावले चक्कुले घाँटीमा प्रहार गरेका थिए। चक्कु प्रहार गरेको आरोपमा सरावलाई तत्कालै नियन्त्रणमा लिइएको थियो।
घाइते लामाको उपचारको लागि मनमोहन मेमोरियल अस्पताल स्वयम्भू लगिएको थियो। त्यहाँबाट थप उपचारको लागि राति नै ट्रमा सेन्टर लगिएको थियो।
अहिले उनको त्यही अस्पतालमा उपचार भइरहेको छ। उनी बोल्न सक्ने अवस्थामा रहेको प्रहरी उपरीक्षक मैनालीले बताए।