काठमाडौं- किसान माध्यमिक विद्यालय झेडेवा पाल्पामा अध्ययन गरेका पूर्व विद्यार्थीले गुरुआमा मिनाकुमारी केसीलाई गुरु दक्षिणा स्वरूप, ‘मिना दिदी’ नामक पुस्तक अर्पण गरेका छन्। गुरुआमा मिना केसीका विद्यार्थी अनि समकालीन शिक्षकले उनीसँगका सम्झना लेखेर पुस्तक प्रकाशन गरेका हुन्।
गुरुआमाको विद्यार्थी तथा पछि गएर समकालीन शिक्षक ‘मिना दिदी’ पुस्तकका सम्पादक उमानाथ पोखरेल हुन्। 'मिना दिदी’ले पढाउने समयमा गरेको संघर्ष र हामी विद्यार्थीप्रति गर्ने व्यवहार स्मरणीय छ। त्यसले आफूलाई उत्साहित बनाएको छ', उनले भने।
केसीले २०२७ देखि २०४७ सम्म अनवरत रूपमा उक्त विद्यालयमा अध्यापन गराएर प्रेरणादायी काम गरेको विद्यार्थी बताउँछन्।
मिना केसी आफ्नो सबै विद्यार्थी शिक्षक र गाउँकै लागि ‘मिना दिदी’ले सम्बोधित हुन्थिन्। पोखरेलले भने, ‘उहाँ विद्यालयको पहिलो तालिम प्राप्त महिला शिक्षक हुनुहुन्थ्यो। उहाँकै कारण धेरैले आफ्ना छोरीलाई विद्यालय पठाएका थिए। जिल्लाकै एक नमुना हुनुहुन्थ्यो मिना दिदी।’
‘मिना दिदी’लाई सबैभन्दा बढी उक्त विद्यालयका छात्राले स्मरण गरेका छन्। छोरीले पढ्नु हुँदैन भन्ने समयमा छात्राले सुरक्षित महसुस गर्दै अध्ययन गरेको उनीहरूको अनुभव छ। पुस्तकमा मिना दिदीको जीवन मात्र नभई पचास वर्षअघिको ग्रामीण क्षेत्रमा शिक्षाको अवस्था, महिला शिक्षकाको सघर्षको कथा पढ्न पाइन्छ।
विद्यालयका प्रधानाध्यापक तुलाबहादुर सारू पनि आफूले सोही विद्यालयमा पढेको बताएँछन्। आफैंले पढाएकी गुरुआमाको बारेमा पुस्तक अर्पण गर्न पाउँदा अत्यन्तै हर्षित भएको सुनाए। साहित्यकार प्रतीक ढकालले यस्तो खालको अनुष्ठानमा पहिलोपटक सहभागी हुन पाउँदा प्रफुल्लित भएको बताए।